हत्या अभियोगमा तीन पक्राउ



नेपाल समाचारपत्र, वीरगन्ज। 
पर्सा प्रहरीले हत्या अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको बहुदरमाई नगरपालिका ७ का शिवनाथ सहनीको हत्या अभियोगमा वीरगन्ज महानगरपालिकाका तीन युवा पक्राउ परेका हुन्।
 पक्राउ पर्ने युवा वीरगन्ज महानगरपालिका ११ श्रीपुर र रानीघाट हुन्। अभियुक्तले सहनीलाई चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेको पर्सा प्रहरीले जनाएको छ।
 सहनीको शव गएको पुस २० गते वीरगन्ज महानगरपालिका २२, जगरनाथपुर स्थित बाँसघारीमा शरीरका विभिन्न भागमा काटेर वीभत्स  हत्या गरी फालेको अवस्थामा फेला परेको थियो।
सो घटनाको अनुसन्धान गर्दै जाने क्रममा वीरगन्ज ११ श्रीपुरका २ र रानीघाटको एक गरी तीन जना युवा पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताउनुभयो।

 पक्राउ परेका युवाहरूमा वीरगन्ज ११ श्रीपुर बस्ने अजय साह, राजन साह कानु र रानीघाटका कृष्णकुमार गुप्ता रहेको पर्सा प्रहरीले जनाएको छ।  उनीहरू गाँजाको सेवनकर्तासमेत रहेको र सीमापारि गई टेम्पो लगायतका साना सवारी साधनमा तस्करी पनि गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको दाबी छ।

 एक दिन अजय साह भन्नेको सामान पक्राउ पर्दा मृतक सहनीले सुराकी दिएर पक्राउ परेको भन्ने अजयलाई आशंका रहेको र पुनः गाँजा खाने क्रममा सो कुरा निस्किएर र चक्कु प्रहार गरी मारेको तथ्य फेला परेको प्रहरी उपरीक्षक राठौरको भनाइ छ।  गाँजा काट्न अजयले सधैं चक्कु बोक्ने गरेको प्रारम्भिक बयानका क्रममा खुलासा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्