नेपाल समाचारपत्रकर्मी विष्ट पुरस्कृत



नेपाल समाचारपत्र, बैतडी। 
राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालले आयोजना गरेको फोटो प्रतियोगितामा सुदूरपश्चिमबाट बैतडीका पत्रकार विनोदसिंह विष्ट पुरस्कृत भएका छन्।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० सफल पार्नको लागि सहयोग पुर्याउने हेतुले र एनएफपीजे नेपालले आयोजना गरेको नेपाल दर्शन २०२० नामक फोटो प्रतियोगितामा विष्टले कैद गरेको फोटो सुदूरपश्चिमबाट उत्कृष्टमा पर्न सफल भएको हो ।

पत्रकार विष्टले कैद गरेको सुदूरपश्चिममा मात्रै नाचिने छलिया नाँचको फोटो उत्कृष्टमा पर्न सफल भएको राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालका महासचिव प्रदीपराज वन्तले जानकारी दिनुभयो।

विष्टलाई सोमवार काठमाडौंमा एक कार्यक्रमकाबिच  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १० हजारसहित पुरस्कृत गर्नुभएको हो। साथै उक्त फोटोलाई

नेपाल दर्शन २०२० फोटो पुस्तकमा  प्रकाशन समेत गरिएको छ। उक्त फोटो पुस्तकको समेत सोमवार मन्त्री भट्टराईले विमोचन गर्नुभएको छ।

 पत्रकार विष्ट राष्ट्रिय समाचार समिति(रासस)र नेपाल समाचारपत्र बैतडी संवाददाताको  रूपमा काम गर्दै आइरहेका छन्। विष्ट विगत १० वर्षदेखि सक्रिय रूपमा पत्रकारिता गर्दै आएका छन्।

यसैबिच प्रगियोगिताका सहभागीहरूमध्येबाट प्रदेश नं.५ का फोटो पत्रकार मनोज पौडेलले लुम्बिनीको मायादेवी मन्दिरको फोटो नेपाल दर्शन २०२० मा उत्कृष्ट हुँदै प्रथम स्थान हासिल गर्नु भएको छ।
मुगुका फोटोग्राफर कविराज कार्कीले खिच्नुभएको रारा तालको फोटोले द्वितीय स्थान हासिल गरेको छ भने काठमाडांैमा रहेर फोटो पत्रकारिता गर्नुहुने सुनील शर्माले खिँच्नु भएका सोलुखुम्बुको सगरमाथा क्षेत्रको फोटोले तृतीय स्थान हासिल गर्न सफल भएको छ।

त्यसै गरी प्रदेश स्तरीय उत्कृष्ट फोटो विजेताहरूमा प्रदेश एकबाट भवानी शिलाकार , प्रदेश दुईबाट सुशीलकुमार श्रेष्ठ, प्रदेश बागमतीबाट आर्यन धिमाल , गण्डकी प्रदेशबाट राधिका कँडेल, प्रदेश पाँचबाट अमरराज पुन , कर्णाली प्रदेशबाट हिक्मतबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशबाट विनोद सिंह विष्टले पुरस्कार जित्न सफल भएका हुन्।

प्रतिक्रिया दिनुहोस्