तेस्रोलिंगीको बलात्कारपछि हत्याको आशंका



नेपाल  समाचारपत्र, हेटौंडा।
हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ। शनिबार हेटौंडा–५, क्याम्पा डाँडामा मृत भेटिएकी अजिताको बलात्कारपछि हत्या भएको तेस्रोलिंगी अधिकारकर्मी सूरजकिरण थापाले दाबी गर्नुभएको हो।

लैंगिक अल्पसंख्यकको अधिकारका लागि काम गर्दै आउनुभएकी भुजेलको शव वीभत्स अवस्थामा फेला परेको थियो।
भुजेलको घटना रहस्यमय रहेकोले गहिरो अनुसन्धानका लागि शवको विस्तृत जाँच गर्न त्रिवि शिक्षण अस्पताल शनिबार नै पठाइएको थियो।
अधिकारकर्मी थापाका अनुसार भुजेल नग्न अवस्थामा भेटिएकोले बलात्कार भएको हुनसक्ने अस्पतालका चिकित्सकले बताएका छन्।

हेटौंडा–११, नवलपुरकी २९ वर्षकी तेस्रोलिंगी अजिताको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमपछि नवलपुरमा सोमबार दाहसंस्कार गरिएको छ।

पोष्टमार्टममा अजिताको घाँटीमा निलडाम, टाउकोमा चोट देखिएको चिकित्सकले बताएको अजिताका फुपाजू देवहादुर थापाले जानकारी दिनुभयो।

चिकित्सकका अनुसार पोष्टमार्टम रिपोट तीन दिनभित्र आउनेछ। फुपाजू थापाले अजिताको हत्या भएको भन्दै हत्यामा संलग्न कसैलाई पनि छाड्न नहुने बताउनुभयो।

अजिताको घाँटीमा बत्तीको तार बेरिएको र घाँटीमा निलडाम देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले जानकारी दिनुभयो। शंकास्पद केहीलाई सोधपुछ गरिएको बताउँदै उहाँले अनुसन्धान जारी रहेको बताउनुभयो।

प्रहरीले अजिताको हत्या भएको आशंकामा केहीलाई सोधपुछ गरेर अनुसन्धानको घेरामा राखेको जनाएको छ। एसपी राठौरले अजितासँग शारीरिक सम्बन्ध राख्नेहरूको पनि खोजी भइरहेको बताउनुभयो। उहाँले अपराधी कुनै हालतमा उम्कन नपाउने दाबी गर्नुभयो।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अजिताको परिवारले घटनामा संलग्न दोषीलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन्। अजिताका काका गेदबहादुर भुजेलले घाँटीमा तारले बेरेको र निर्वस्त्र सडकमा फालिएको अवस्थामा शव भेटिनु शंकास्पद भएको बताउनुभयो।

घटनाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले असुरक्षित भएको बताएका छन्। अधिकारकर्मी थापाले षड्यन्त्र गरेर अजिताको हत्या भएको हुनसक्ने भन्दै दोषीलाई कारबाही गर्न प्रहरीसँग अनुरोध गरिएको बताउनुभयो।

अजिताले लगाएको सुनको गहना, मोबाइल भेटिएको छैन। अजिताको बलात्कारपछि हत्या भएको भन्दै किरणले अजिताको हत्यासँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले असुरक्षित महसुस गरेको बताउनुभयो। उहाँले सुरक्षाको ग्यारेन्टी गर्न माग गर्नुभएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीकाअनुसार रिपोर्ट आउन केही समय लाग्ने बताइएको छ। कुर्मीले भन्नुभयो–  हामीले फोनकल डिटेल हेरिरहेका छौं।

चाँडोभन्दा चाँडो हत्यारा पत्ता लगाइने कुर्मीले दाबी गर्नुभयो। अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर प्रयोग गरिएको छ।

अजिताले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पहिलोपटक लैंगिक पहिचानका आधारमा नागरिकता लिनुभएको थियो। उहाँले समलिंगी विवाह गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्