प्रदेश नम्बर ५ विपक्षी दलका नेता शर्माको निधन



यमलाल भुसाल, बुटवल। 
प्रदेश नम्बर ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ। सोमबार दिउसो २ बजे आफ्नै निवास तिलोत्तमा नगरपालिका १३ टिकुलीगढमा नेता शर्माको निधन भएको नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ।
विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित शर्माको उपचार क्रिमसन अस्पतालमा भइरहेकोमा ५ दिनअघि मात्र अस्पतालबाट  घर लगिएको थियो।शर्मा प्रदेश पाँचका सबैभन्दा जेष्ठ सदस्यका रूपमा रहनुभएको थियो।

८२ वर्षीय शर्माका ४ छोरा २ छोरी रहेका छन्। उहाँको पार्थिव शरीरलाई पवित्र स्थल देवघाटमा लगी दाहसंस्कार गरिने कुरा पारिवारिक सूत्रले जनाएको छ।
नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति समेत रहनुभएका शर्माको निधन प्रति नेपाली कांग्रेस रुपन्देही, बुटवल उपमहानगर समितिले अलग अलग विज्ञप्ति जारी गरी गहिरो दुःख प्रकट गरेका छन्।
शर्माको निधनले पार्टीलाई ठुलो क्षति भएको भन्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको छ।
यसैबिच नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक र सचिव रामकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा  नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति शर्माको निधनमा ३ दिनसम्म जिल्ला पार्टी कार्यालय र जिल्लाका नेपाली कांग्रेसका सबै कार्यालय बन्द रहने , कुनै कार्यक्रम नगर्ने र ७ दिन सम्म पार्टीको झन्डा झुकाउने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्