घरभाडा लिनेदिनेको विवरण संकलन शुरू



नेपाल समाचारपत्र, पर्वत। 

पर्वतमा घरभाडामा लिने र दिने व्यक्तिहरूको विवरण संकलन गर्न थालिएको छ। पछिल्लो समय घरभाडामा बस्नेहरूबाट विभिन्न अपराधिक गतिविधिहरू बढ्दै गएपछि गृह मन्त्रालयले नेपालभर घर भाडामा बस्ने र बस्न दिने घरमुलीको विवरण संकलन गर्न निर्देशन जारी गरेको थियो।

गृहको निर्देशनलगत्तै पर्वतमा यसै सातादेखि विवरण संकलन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो।

जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाका ६१ वटै वडा तथा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र जिल्लाभर रहेका एक दर्जनभन्दा बढी प्रहरी चौकीबाट विवरण संकलन गर्न थालिएको नेपालले बताउनुभयो।

पर्वतमा सवैभन्दा बढी सदरमुकाम कुश्माबजार र दोस्रो व्यापारिक केन्द्र वारीबेनीबजार, तेस्रो पातीचौर र दक्षिण पर्वतको पैंयु गाउँपालिकास्थित हुवासमा घर भाडामा लिने र दिनेको संख्या उच्च रहेको छ। यसबाहेक फलेवास, महाशीला र विहादीमा न्यून मात्रामा घर भाडामा लिनेदिने गरेको पाइन्छ।

गृहको निर्देशनसँगै जिल्लाका सातवटै स्थानीय तहले सूचना जारी गरी विवरण उपलब्ध गराउन सम्बन्धित घरधनी र घर भाडामा लिनेहरूलाई आग्रह गरेको छ।

एक/दुई सातासम्म सूचना जारी गर्ने र त्यसपछि पनि उपलब्ध गराउन नआए घरदैलो नै गरेर विवरण संकलन गर्ने योजना अघि सारिएको प्रजिअ नेपालले बताउनुभयो।

खासगरी घरधनीको नाम थर, ठेगाना, सम्पर्क नम्बर, घरधनीको परिचय खुल्ने कागज, घर भाडामा लिए÷दिएको मिति, घरभाडामा बस्ने, व्यक्ति संस्था वा कार्यालयको नाम, सम्पर्क नम्बर, घरभाडामा बस्नुको प्रयोजन तथा घरभाडामा बस्न छाडेको मिति जस्ता विवरण सम्बन्धित निकायमा पेश गर्नुपर्ने प्रावधान तोकिएको छ।

सबै सरकारी निकायमा फारमको नमूना पठाइसकिएको बताउँदै प्रजिअ नेपालले सबैले यो अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको थियो। कार्यालयका प्रमुख र सुरक्षा प्रमुखहरूको बैठकले पनि गृहको उक्त निर्देशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरिसकेको छ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गत मंगलबार गृह मन्त्रालयमा बसेको बैठकमा शहरी क्षेत्रमा आपराधिक गतिविधि बढेको विषयमा सरकारको ध्यानाकर्षण भएको भन्दै विवरण संकलनका लागि निर्देशन दिएको थियो।

‘सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको र पछिल्लो समय गतिविधि बढेको विषयमा छलफल भएको थियो।

उक्त विवरण घरभेटी स्वयं्ले वा भाडामा बस्नेहरूले दिन पनि सक्ने बताइएको छ। पर्वतमा झण्डै १० हजारको हाराहारीमा भाडामा बस्ने परिवार भएको आँकलन गरिएको छ।

अहिलेसम्म घरभाडामा बस्नेको संख्या र दिनेको संख्यासमेत यकिन नभएका बेला अब यसको यकिन तथ्यांक संकलनसमेत हुने भएको छ भने घरवाहल करलगायत राज्यको राजश्व संकलनमा समेत सघाउ पुग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्