काँठे लोकदोहोरी महोत्सव हुने



भिजिट नेपाल–२०२० लाई सहयोग पुर्याउने तथा काँठ क्षेत्रका गीत–संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६ आयोजना गरिने भएको छ।

डीएआर मुभिजको आयोजनामा आगामी फाल्गुन १६ गतेदेखि २० गतेसम्म राजधानीको टँुडिखेलमा महोत्सव आयोजना गर्न लागिएको पत्रकार भेटघाटमा जानकारी गराइएको छ।

काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको कार्यक्रम संयोजक नवराज ढुंगानाले जानकारी गराए।

मेलापातमा झुन्डिएका तर डिजिटल बजारमा व्यवसायिकरूपमा अगाडि आउन नसेकेका नयाँ तथा पुराना भाका, गीत–संगीत उजागर गराउने उद्देश्यसहित महोत्सव गर्न लागिएको संरक्षक तथा डीएआर मुभिज एन्ड फिल्म इन्डिस्ट्रिज प्रालिका प्रभावनजेले बताए। ५ दिनसम्म चल्ने महोत्सवमा नयाँ तथा पुराना कलाकारको प्रस्तुति रहने बताइएको छ।

महोत्सवअन्तर्गत काँठे लोकदोहोरी प्रतियोगिता हुनेछ। देशभित्र तथा बाहिर जुनसुकै ठाउँमा रहेकाले पनि यो तियोगितामा भाग लिन पाउनेछन्। प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना हुनेले क्रमशः नगद ३ लाख, २ लाख, १ लाख र ५० हजारसहित मेडल, प्रमाणपत्रलगायत अन्य पुरस्कार प्राप्त गर्नेछन्।

कार्यक्रममा काँठे क्षेत्रको लोक गीत–संगीतमा योगदान पुराएका श्रष्टालाई सम्मानसमेत गरिने भएको छ। सो अवसरमा कुमार बस्नेत, जयनन्द लामा, मच्छेश्वर सापकोटा, तीर्थकुमार थापा, मीरा थापा, मीरा राणा, धुव्रराज खड्का र शिवनारायण जोशीलाई सम्मान गरिने भएको छ।

बुद्धिकृष्ण लामिछाने, कृष्णविक्रम थापा, भगवती दंगाल र लालबहादुर खातीलाई मरणोेपरान्त सम्मान गरिने आयोजकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्