स्थानीय निकाय आँखा स्वास्थ्यमा सक्रिय, ४ सय ५१ को निःशुल्क शल्यक्रिया



रोशन पराजुली

हेटौंडा–१४ भीमफेदी, मनहरी र कैलाश गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएका छन्। स्थानीय निकायको आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा आँखा शिविर सञ्चालन गरी निःशुल्करूपमा आँखा जाँच तथा औषधि वितरण गरिएको हो।

स्थानीय निकायहरूको सक्रियतामा मकवानपुरमा सञ्चालन गरिएका शिविरमा ८५ जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ। माघ पहिलो साता सञ्चालित शिविरमा मकवानपुरलगायत बारा, पर्सा र रौतहटमा निःशुल्क आँखा शिविर सञ्चालन गरी मोतिविन्दुका बिरामी संकलन गरेर ४ सय ५१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ।

मकवानपुरको नामटार, मयूरधाप, भीमफेदी, हाँडीखोला, मनहरी, बाराको दोहोरी, निजगढ, प्रस्टोका, पर्साको पोखरिया, हरपतगन्ज, रौतहटको पेटभर्वा र सर्लाहीको मियाकोर र भगवानपुरमा निःशुल्क आँखा शिविर सञ्चालन गरी २ हजार ९ सय ३६ जनाको आँखा परीक्षण गरिएकोमा ६ सय ४७ जना मोतिविन्दुका बिरामी फेला परेका थिए।

बेनोलेभेन्स च्यारिटी हल हङकङको सहयोगमा सञ्चालित शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पताल प्रमुख डा. सुनील थकालीलगायत डा. कल्पना सिंह र डा. होमबहादुर गुरुङ एवं तिलगंगा आँखा प्रतिष्ठानकी डा. वन्दना खनालको टोलीले शल्यक्रिया गरेको थियो।

प्रतिक्रिया दिनुहोस्