चुनावी रौनकमा रम्दै चिकित्सक



भगवती तिमल्सिना

[email protected]

यति बेला नेपालमा चिकित्सकहरूका माझ ठूलो प्रतिस्पर्धा चलिरहेको छ, त्यो उपचारका लागि बिरामीमा केन्द्रित नभई चुनावी लडाइँको प्रतिस्पर्धा हो। बिरामीले डाक्टर भेट्दा जसरी भगवान् पुकार्छन् त्यसै गरी यति बेला चिकित्सकहरूलाई भेट्दा उम्मेदवारले त्यसरी नै पुकारेको सुनिन्छ।

नेपाल चिकित्सक संघको २८औं कार्यकारिणी समितिका लागि जारी निर्वाचनमा होमिएका उम्मेदवार र मतदाताहरूका बीचको प्रतिस्पर्धा देख्दा लाग्छ बिरामीको स्वास्थ्य परीक्षण र रोग निदानका क्षेत्रमा पनि यस्तै प्रतिस्पर्धा कहिले होला ?

यही माघ ४ र ५ गते उपत्यकाबाहिर मतदान सम्पन्न भइसकेको छ। उपत्यकाबाहिरका १६ वटा शाखामा भएको मतदान शान्तिपूर्ण र उत्साहजनक भएको र जम्मा २ हजार ८ सय ५० मत खसेको संघले जनाएको छ।

संघको विभिन्न शाखामा रहेका १८ मतदान केन्द्रमा ३ हजार ५ सय ६५ जना कुल मतदाता रहेको पनि संघले जनाएको छ। कुल मतदाता सख्यामा ८० प्रतिशत मत खसेको छ।

मतदान शान्तिपूर्ण भएको र उम्मेदवारहरूको उपस्थिति पनि सौहार्दपूर्ण रहेको उल्लेख गरिएको छ। मतदान सम्पन्न भएलगत्तै उम्मेदवारहरू पनि चुनावी माहोललाई दिमागमा बोकेर काठमाडौं भित्रँदै गरेको पनि संघले जनाएको छ।

कुल मतदातामा ८० प्रतिशतमात्र मत खसेको भए पनि सगरमाथा र सुर्खेतमा भने शतप्रतिशत मत खसेको थियो। यो दुई दिनको निर्वाचनमा सबैभन्दा बढी मत चितवनमा खसेको छ भने सबैभन्दा कम जुम्लामा खसेको जनाएको छ।

पुरा मतदाताले भोट खसालेको सगरमाथामा ४६ मतदाता रहेका थिए भने सुर्खेतमा २७ मतदाता रहेका थिए। सबैभन्दा बढी मतदाता रहेको कोसी शाखामा जम्मा ६२ प्रतिशत मतदान भएको छ। कोसीमा कुल मतदाता ६ सय २६ रहेकोमा जम्मा ३ सय ८८ ले मात्र मतदान गरेका छन्।

त्यस्तै, जनकपुरमा पनि करिब ६२ प्रतिशत नै मत खसेको छ।जनकपुरमा कुल ३ सय ८० मतदाता रहेकोमा २ सय ३५ ले मात्र मत खसालेका छन्। काठमाडौं उपत्यकामा भने माघ १७ देखि २१ सम्म मतदान हुनेछ। २१ माघमा मतदान सकिएपछि मात्र मतगणना शुरू हुने भएकाले मतपरिणामका लागि भने अझै २ साता कुर्नुपर्नेछ।

खसेको मत संघका अनुसार सुर्खेतमा २७, चितवनमा ३ सय ९७, लुम्बिनीमा ३ सय १६, दाङमा ६०, पाल्पामा ७१, सगरमाथामा ४६, लाहानमा ४३, मेचीमा १ सय २७, कोसीमा ३ सय ८८, धरानमा ३ सय ४५, पोखरामा २ सय ५२, भेरीमा १ सय ७६, जुम्लामा १९, सेतीमा ९२, जनकपुरमा २ सय ३५ र नारायणीमा २ सय ६० मत खसेको छ।

७ पदाधिकारीसहित १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा छन्। अध्यक्षका लागि लोकतान्त्रिक प्यानलबाट डा. लोचन कार्की र प्रगतिशील समूहबाट डा. पुष्पमणि खराल मैदानमा छन्।

दुवै १३ वटै पदका लागि प्यानल बनाएर आमने–सामने भएका हुन्। महासचिवमा भने दुई प्यानलभन्दा बाहिरबाट पनि डा. दीपेन्द्र पाण्डे र डा. अजयकुमार मिश्रले उम्मेदवारी दिएका छन्। त्यस्तै, सदस्यतर्फ दुई उम्मेदवार प्यानलभन्दा स्वतन्त्र रही मैदानमा छन्। बुद्धिजीवीहरूको चुनाव भएकै कारण चौतर्फीरूपमा चासोको विषय बनेको छ।

कुल मतदातामा ८० प्रतिशतमात्र मत खसेको भए पनि सगरमाथा र सुर्खेतमा भने शतप्रतिशत मत खसेको थियो। यो दुई दिनको निर्वाचनमा सबैभन्दा बढी मत चितवनमा खसेको छ भने सबैभन्दा कम जुम्लामा खसेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्