पशुपति क्षेत्रका पसल तथा टहरा सात दिनभित्र भत्काउन निर्देशन, नभत्काए कोषले आफैं भत्काईदिने चेतावनी



न्यु अफ नेपाल, काठमाडौं । पशुपति क्षेत्रमा रहेका पसल तथा टहराहरु खाली गराउन सूचना जारी गरेको छ । यस क्षेत्रमा भएको अतिक्रमणका कारण सौन्दर्यमा नकारात्मक असर परेको र भक्तजनहरुलाई हिँडडुल गर्न समस्या परेको भन्दै पशुपति क्षेत्र विकास कोषले त्यहाँ रहेका पसल तथा टहराहरु खाली गराउन सूचना जारी गरेको हो ।
पशुपति क्षेत्र विकास कोषले जारी गरेको सूचनाअनुसार पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबलीहरु, खुल्ला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, फकुण्डो क्षेत्रसमेतमा अव्यवस्थित तवरले छाप्रा बनाई फूल, उपहाजन्य पसल व्यवसाय गर्ने, बसोबास गर्ने कार्यहरु भइरहेको भन्दै तिनलाई हटाउन भनिएको छ ।
पशुपति क्षेत्रको मापदण्ड विपरीत एवं स्वीकृति नलिइकन सञ्चालित पसल एवं बसोबासका लागि बनाइएका अस्थायी टहरा प्रथम पटक प्रकाशित मितिले सातदिन भित्र हटाइसक्न भन्दै माघ १ गते कोषले सूचना जारी गरेको थियो । कोषको सात दिने चेतावनी सोमबार पुरा भएकै दिन दोस्रो सूचना प्रकाशित भएको छ । सात दिनभित्र अतिक्रमित दोकान र टहराहरु नहटाइए कोषले आफैं भत्काउने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्