प्रदेश लोकसेवाले पायो पूर्णता



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त दुई सदस्यले सपथग्रहण गर्नुभएको छ । प्रदेश लोकसेवा आयोगका लागि सिफारिस हुनुभएका पूर्व सहसचिव सुदर्शन ढकाल र टिचिङ अस्पतालमा अध्यापन गराउनुभएकी शर्मिला न्यौपानेले सोमबार प्रदेश प्रमुखको कार्यालयमा सपथ लिनुभएको हो । सपथग्रहणसँगै बागमती प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको छ ।

उहाँहरुलाई बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं, मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठको उपस्थितिमा सपथग्रहण गराइएको थियो । उहाँहरुलाई प्रदेश लोकसेवा आयोग अध्यक्ष सुरेन्द्रमान श्रेष्ठले सपथ खुवाउनुभएको थियो ।

प्रदेश प्रमुख प्रसाईंले संविधानले दिएको अधिकार समुचित प्रयोग गर्दै प्रदेशको समग्र विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा लाग्न आयोगलाई निर्देशन दिनुभयो । उहाँले सपथ खाएजसरी नै नेपाली जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो ।

प्रदेशसभाबाट भदौ १४ गते लोकसेवा आयोग गठनसम्बन्धमा विधेयक पारित भएको थियो । मुख्यमन्त्री पौडेल संयोजक रहेको सिफारिस समितिले कात्तिक २९ गते अध्यक्षमा श्रेष्ठलाई सिफारिस गरेको थियो । प्रदेश लोकसेवा आयोगका पदाधिकारीको सेवाअवधि ६ वर्ष तोकिएको छ ।

सपथग्रहण कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश प्रमुख सचिव तोयम राय, प्रदेश नीति तथा योजना आयोग सदस्य श्याम बस्नेत, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल तथा सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

प्रदेशका मुख्यमन्त्री पौडेल, सभामुख श्रेष्ठ र प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँको सिफारिसमा दुई सदस्य सिफारिस गरिएको हो । यसअघि आयोग अध्यक्षमा श्रेष्ठ नियुक्त गरिनुभएको थियो ।

संविधानमा प्रदेश कानुनअनुसार प्रदेशमा छुट्टै लोकसेवा आयोग गठन गर्ने व्यबस्था छ । । संविधानअनुसार प्रदेश आफैंले लोकसेवा आयोग गठन गरेपछि संघीय लोकसेवाअन्तर्गत् लोकसेवाले प्रदेश लोकसेवासँग समन्वय गर्नेछ । प्रदेशस्तरीय कार्यालयले नायब सुब्बासम्मको परीक्षा लिने र सिफारिस गर्नेछ भने अधिकृतको परीक्षा सञ्चालनमात्र गर्नसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्