बीमा कम्पनीबाट करोडौं ठग्ने जेल



काठमाडौं ।

बीमा कम्पनीबाट करोडौं ठग्ने कोसिस गरेको आरोपमा बेलायतमा बस्ने सैयद बुखारीललाई जेल सजाय हुने भएको छ ।आफ्नै मृत्युको नाटक गरी १४ करोड ७७ लाख बीमाको रकम असुल्न खोज्ने उनलाई जेल सजाय हुने भएको हो ।
लण्डन सिटी पुलिसको इन्स्योरेन्स फ्रड इन्फोर्समेन्ट डिपार्टमेन्टको जाँचमा यो खुलासा भएको द मिररको रिपोर्टमा उल्लेख छ ।

बेलायतमा बस्ने सैयद बुखारीले बीमाको पैसा दावी गर्न १९ जनवरीमा बीमा कम्पनीलाई इमेल पठाएर आफ्नो मृत्युको जानकारी दिएका थिए । त्यसपछि फोनमा श्रीमतीको आवाजमा कुरा गरेर मृत्यु हर्ट एट्याकका कारण कराँचीमा भएको बताएका थिए ।

त्यसपछि बीमा कम्पनीले दावीको भेरिफिकेशन सुरु गर्यो । यसको जिम्मेवारी लण्डन सिटी पुलिसको इन्स्योरेन्स फ्रड इन्फोर्समेन्ट डिपार्टमेन्टका अधिकारी माइक मंकटनलाई दिइयो । जाँचको क्रममा पुलिसले ती व्यक्तिहरुसँग पनि सम्पर्क गर्यो जसको बारेमा बुखारीले फोनमा रिफरेन्स दिएका थिए ।

जब फोनमा क्लेम गर्ने आवाजको जाँच गरियो त्यसपछि थाहा भयो कि फोन गर्ने आवाज कुनै महिलाको नभइ बुखारीकै हो । त्यसपछि बुखारीलाई पक्राउ गरी लण्डन क्राउन कोर्टमा पेश गरियो । अदालतले बिहीबार सुनुवाइको क्रममा बुखारीलाई ५ वर्ष ७ महिनाको जेल सजाय सुनाएको छ ।

मंकटनका अनुसार मुद्दामा बुखारी मात्र नभइ उनकी पत्नीलाई समेत पैसाको लागि षड्यन्त्र रचेको आरोपी बनाइएको छ । पत्नीले भने पतिले गरेको अपराधबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छिन् । बीमा कम्पनीले तीन स्तरमा बुखारीको दावीको जाँच गराएको थियो । सबैभन्दा पहिले दावी फाइनलमा संलग्न गरिएको मेडिकल प्रमाणपत्र र मृत्यु प्रमाणपत्रको जाँच गरियो ।

यसमा मेडिकल प्रमाणपत्रमा रहेको फिंगरप्रिन्टमा ३ औंलाको छाप मात्र बुखारीका थिए । त्यसपछि जाँच टिम पाकिस्तान गएर कराचीमा अनुसन्धान गर्यो । यहाँको जुन चिहानघाटमा बुखारीलाई गाडेको दावी गरिएको थियो त्यहाँको रजिष्टरमा बुखारीको कुनै रेकर्ड थिएन ।

त्यसपछि जाँचकर्ता युनियन काउन्सिलको कार्यालय गए, जहाँबाट मृत्यु प्रमाणपत्र जारी गरिएको थियो । यहाँ रजिष्टरमा बुखारीको नाम थियो तर पहिचान पत्र र मेडिकल प्रमाणपत्रको आइडी नम्बर लगायत मिलेको थिएन ।

त्यपछि जाँचकर्ता मेडिकल प्रमाणपत्रको पुष्टि गर्न अस्पतालको ठेगानामा पुग्दा त्यहाँ कुनै अस्पताल नै थिएन । नजिकैका एक डाक्टरले प्रमाणपत्रका उल्लिखित अस्पतालको नाम कहिल्यै नसुनेको बताएका थिए ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्