उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा



न्युज अफ नेपाल, काठमाडौं ।

उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएकी हुन् ।

यसअघि सभामुख उम्मेदवार तय भएपछि निकास दिने बताउँदै आएकी उपसभामुख तुम्बाहाङ्फेलाई आइतवार नेकपा सचिवालय बैठकअघि ओलीले बोलाएर छलफल गरेका थिए । उनले ओलीसँगको भेटमा आफ्नो गल्ती के हो भनेर प्रश्नसमेत गरेकी थिइन् । ओलीले भने पार्टीको अवस्था बुझाउँदै आफूलाई सघाउन आग्रह गरेको स्रोतले जनाएको छ ।

साँझ ४ बजेको संसद् बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने संसद् सचिवालयले जनाएको छ । सभामुख निर्वाचन प्रक्रिया आजकै बैठकबाट अघि बढ्नेछ ।

यसैबीच, नेकपा सचिवालयबाट अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयपछि राजीनामा दिन बाध्य पारिएकी उपसभामुख तुम्बाहाङ्फेको व्यवस्थापनका बारेमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग समेत छलफल गरेका छन् ।

तुम्बाहाङ्फेलाई मन्त्री बनाउने तयारी छ । अहिले शहरी विकास र कानून मन्त्रालयमा कामचलाउ मन्त्रीले सम्हालिरहेका छन् भने केही अरू मन्त्री पनि हेरफेर हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्