ह्यारी र मेगनले शाही सम्बोधन प्रयोग नगर्ने



लन्डन,(एजेन्सी)।

राजकुमार ह्यारी र मेगनले अबदेखि हिज र हर हाइनेसको सम्बोधन प्रयोग नगर्ने तथा शाही काम कारवाहीका लागि सार्वजनिक कोष प्राप्त नगर्ने वेलायतको राज प्रासाद बकिङ्घम प्यालेसले आइतवार घोषणा गरेको छ।

साथै यो जोडीले अबदेखि महरानी एलिजावेथ द्वितियालाई औपचारिक रूपमा प्रतिनिधित्वसमेत नगर्ने बताइएको छ। बकिङ्घम राजदरबारले एक वक्तव्य जारी गर्दै ड्युक र डचेज अफ ससेक्सले बेलायतस्थित तिनीहरुको घर फ्रोगमोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २४ लाख पाउन्ड समेत फिर्ता गर्ने इच्छा देखाएको जानकारी समेत दिइएको छ। राज प्रासादका अनुसार यो नयाँ व्यवस्था यसवर्षको वसन्तदेखि लागू हुनेछ।

ह्यारी र मेगनले स्वेच्छाले राजप्रासादको वरिष्ठ सदस्यको पदबाट बाहिरिने घोषणा गरेपछि गत सोमबार शाहीपरिवारका वरिष्ठ सदस्यहरुबीच तिनीहरुको भविष्यको जिम्मेवारीबारे गहन छलफल भएको थियो। सोही छलफलपछि राज प्रासादले यस्तो वक्तव्य जारी गरेको हो।

वक्तव्यमा महारानीले भनेकी छिन्, ‘ थुप्रै महिना लामोे कुराकानी र पछिल्लो समयमा भएको छलफलपछि हामीले संयुक्त रूपमा मेरो नाति र उनको परिवारलाई रचनात्मक र सहयोगात्मक मार्ग फेला पार्न सकेकोमा मलाई खुसी लागेको छ।

ह्यारी, मेगन र आर्ची मेरो परिवारको सबैभन्दा प्रिय सदस्यको रूपमा रहनेछन्।‘विगत दुई वर्षदेखि गम्भीर निगरानीका सहनु परेका कारण तिनीहरुले कति चुनौतीको सामना गर्नुप¥यो भन्ने म बुझ्दछु। तिनीहरुले जसरी स्वतन्त्र भएर जीवनयापन गर्ने निर्णय लिए, त्यो इच्छाको म समर्थन गर्छु।

देशमा तिनीहरुले अहिलेसम्म जे जति गरे त्यसको लागि धन्यवाद दिन चाहन्छु। मेगनले यो परिवारको सदस्यको रूपमा आफूलाई निकै चाँडै भिजाइन् , यसका लागि उनीप्रति म निकै गौरवान्वित छु।आजको यस निर्णयले तिनीहरुलाई आफ्नो खुसी र नयाँ जीवन आरामदायी बनाउन सहयोगी भूमिका खेल्नेछ भन्ने कुरामा हामी पूरा परिवार आशावादी छौं।’

तर सामान्य जीवन बिताउन लागेको यस जोडीको सुरक्षाका लागि कस्तो बन्दोबस्त अपनाइएको छ भन्ने बारे भने राजप्रासादले कुनै जानकारी सार्वजनिक गरेको छैन।यसअघि नै ह्यारी र मेगन कहिले क्यानडा र कहिले बेलायत बस्ने गदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्