शेयर बजार करिब दुई वर्ष अघिको स्थितिमा फर्कियो



नेपाल समाचारपत्र, काठमाडौं।

शेयर बजारमा निरन्तर वृद्धि हुँदै जाँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार करिब दुई वर्ष अघिको स्थितिमा पुगेको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३३ दशमलब ४३ अंकले बढेर १३४३ दशमलब ६५ बिन्दुमा पुगेको छ।

कुल १७८ कम्पनीको ६१ लाख ३१ हजार कित्ता शेयर २ अर्ब ९ करोड ८ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ दिन बीमा कम्पनीको शेयर मूल्य अन्य कम्पनीको तुलनामा वृद्धि भएको देखिन्छ। पछिल्ला केही साता शेयर बजारमा निरन्तर सुधारको संकेत देखिँदै गएको छ।

कारोबार भएका कूल १२ समूहमध्ये व्यापार समूह बाहेक सबै समूहको परिसूचक बढेको छ। व्यापार समूह ७ दशमलब ९८ ले घट्दा बैंकिङ समूह १७ दशमलब ९४, होटल समूह ४९, विकास बैंक समूह ६६ दशमलब ५३, जलविद्युत् समूह ४५ दशमलब ४६, निर्जीवन बीमा समूह ३३७ दशमलब शून्य २, उत्पादन समूह ५९ दशमलब ९४, अन्य समूह १२ दशमलब ३६, लघुवित्त ३२.०६, जीवन बीमा ४०३ दशमलब २५ र सामूहिक लगानी कोष शून्य दशमलब ५४ ले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ। सो कम्पनीको शेयर १२ करोड १५ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ।

यस्तै शिवम् सिमेन्टको १० करोड ८ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड ७९ लाख, प्रभु बैंकको ८ करोड १८ लाख, एनसीसी बैंकको ६ करोड ६७ लाख, एनआईसी एसिया बैंकको ६ करोड ३० लाख रुपियाँभन्दा बढीको शेयर किनबेच हुँदै उच्च कारोबार हुने कम्पनीको सूचीमा अगाडि छन्।

यस दिन पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ भने अन्य २२ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। नेप्सेका अनुसार लक्ष्मी इक्विटी फन्ड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, जानकी फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।

यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै सगरमाथा इन्स्योरेन्सको ९ दशमलब ९८, प्रिमियर इन्स्योरेन्स ९ दशमलब ९८, प्रभु इन्स्योरेन्स ९ दशमलब ९७ र प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मूल्य ९ दशमलब ९३ प्रतिशतले बढेको छ।

समग्र परिसूचक उच्च अंकको वृद्धिसँगै करिब २ वर्ष अघिको स्थितिमा पुग्दा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्।

यस कम्पनीको शेयर मूल्य ६ दशमलवब ६९, कालिका पावर कम्पनी ५ दशमलब शून्य ५ प्रतिशतले घटेको छ।

चालू आर्थिक वर्षको पाँचौं महिना (मंसिर मसान्त)मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांक ११५४ दशमलव १ विन्दु कायम भएको छ। पाँच महिनाअघि असार मसान्तमा यस्तो सूचकांक १२५९ विन्दु रहेको थियो।

धितोपत्र बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा ७ प्रतिशतले वृद्धि भई मंसिर मसान्तमा १४६६ अर्ब ५ करोड रुपियाँ कायम भएको छ। असार मसान्तमा बजार पुँजीकरण १५६७ अर्ब ५० करोड रुपियाँ रहेको थियो।

नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या मंसिर मसान्तमा २ सय १२ वटा रहेको छ। सूचीकृत कम्पनीमध्ये १ सय ४९ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ वटा जलविद्युत् कम्पनी, १९ वटा उत्पादन र प्रशोधन उद्योग, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन्। मंसिर मसान्तसम्ममा सूचीकृत ४ अर्ब ४९ करोड शेयर संख्याको चुक्ता मूल्य ४ सय ३९ अर्ब ३१ करोड रुपियाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्