कृषि विकास बैंकको नाफा २ अर्बभन्दा बढी



कृषि विकास बैंकले चालू आवको दोस्रो त्रैमासमा करसहितको नाफा २ अर्ब ३ करोड ८० लाख रुपियाँ नाफा आर्जन गरेको छ। गत आवको सोही अवधिमा बैंकले १ अर्ब ७४ करोड २० लाख रुपियाँ नाफा आर्जन गरेको थियो।

बैंकको ५३औं वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलन बोल्दै प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले १ खर्ब २७ अर्ब १३ करोड ९६ लाख रुपियाँ निक्षेप संकलन भएको जानकारी दिनुभयो।

गत आवको सोही अवधिमा १ खर्ब १० अर्ब १३ करोड २८ लाख रुपियाँ निक्षेप गरेको थियो। बैंकका अनुसार यो अवधिमा १ खर्ब १७ अर्ब ७७ करोड ६५ लाख रुपियाँ कर्जा लगानी गरेको थियो। गत आवको सोही अवधिमा १ खर्ब ६ अर्ब ८४ करोड ७६ लाख रुपियाँ कर्जा लगानी गरेको छ।

चालू आवको दोस्रो त्रैमासमा आइपुग्दा बैंकको खराब कर्जा १० दशमलब ३१ प्रतिशत घटेको जनाएको छ। गत वर्षको सोही अवधिमा ४ अर्ब ७१ करोड ८८ लाख रुपियाँ रहेको खराब कर्जा चालू आवको सोही अवधिमा आईपुग्दा ४ अर्ब २३ करोड रुपियाँमात्रै रहेको छ।

चालू आवको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी २८ रुपियाँ ३७ पैसा रहेको बैंकको गत आवको सोही अवधिमा २३ रुपियाँ ५५ पैसा रहेको थियो। सरकारले आह्वान गरेको ‘सबै नेपालीको बचत खाता’ खोलौ बैंक खाता अभियान शुरूपछि ५२ हजारभन्दा बढीले खाता खोलेको सीईओ उपाध्यायको भनाइ छ।

एक वर्षको अवधिमा बैंकले करिब २५ सय जनालाई ५ अर्ब ५८ करोड रुपियाँ सहुलियतपूर्ण कृषि अनुदान दिएको बैंकले जनाएको छ। बैंकले १ करोड रुपियाँभन्दा माथिको कर्जाको भार कुल कर्जामा १ प्रतिशतभन्दा न्यून रहेको जनाएको छ भने १० लाख रुपियाँभन्दा कम कर्जाको भार ८४ प्रतिशत रहेको जनाएको छ।

बैंकले आगामी ७ वर्षका लागि १० दशमलब ३५ प्रतिशत ब्याजदरमा प्रतिऋणपत्र १ हजार रुपियाँका दरले २ अर्ब ५० करोड रुपियाँको २५ लाख कित्ता एडीबीएल–कृषि बैंक ऋणपत्र २०८२ निष्काशनको अन्तिम चरणमा रहेको जनाएको छ।

विगतका वर्षमा औसत १५ प्रतिशत लाभांश दिँदै आएको बैंकले गत वर्ष २१ दशमलब शून्य ५ प्रतिशत र यस वर्ष ३० प्रतिशत लाभांश दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्