चामुण्डा मेयर कप स्नुकर हुँदै



काठमाडौं, (नेस)।

नेपाल विलियर्ड, स्नुकर तथा पुल संघको सहयोग तथा चामुण्डा स्नुकर क्लबको आयोजनामा प्रथम चामुण्डा गोकर्णेश्वर मेयर कप ओपन सिक्स रेड स्नुकर च्याम्पियनसिप माघ २५ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा नेपालका विभिन्न ४५ जिल्ला र भारतका गरी २ सय ५६ खेलाडीको सहभागिता अपेक्षा गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रिय च्याम्पियन नेपाल विलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मीले जानकारी गराए।

आयोजक क्लबका प्रबन्ध निर्देशक विनेश डंगोलले जिल्लाबाट आउने खेलाडीलाई बसोबास तथा भारतबाट आउने खेलाडीलाई बसोवास र खानाको व्यवस्था गरिने जानकारी दिए। भारतबाट करिब १७ खेलाडी आउने अनुमान गरिएको प्रबन्ध निर्देशक डंगोलले बताए।

विजेताले १ लाख ५० हजार, उपविजेताले ६० हजार र तेस्रो हुने दुई खेलाडीलाई जनही २० हजार नगद पुरस्कार दिइने छ। ७५ अंकसम्म सर्वाधिक ब्रेककर्तालाई ३० हजार तथा सोभन्दा मुनि सर्वाधिक ब्रेककर्तालाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ।

उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र उदीयमान खेलाडीलाई समान १०–१० हजार नगद प्रदान गरिने छ। प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख खर्च हुने बताइएको छ।

फागुन १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू जोरपाटी स्थित आयोजक क्लबको आफ्नै हलमा हुने छ। आयोजकका अुनसार सिक्स रेड स्नुकर प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्