मृदुषा श्रेष्ठ स्मृति बुद्धिचाल हुने



काठमाडौं, (नेस)।

पुष्पसदन आवासीय माध्यमिक विद्यालयले प्रथम मृदुषा श्रेष्ठ स्मृति राष्ट्रव्यापी खुल्ला तथा अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ।

माघ ११ गतेदेखि विद्यालयको प्रांगणमा खुल्ला तथा माघ १७ गतेदेखि अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता हुने भएको हो। माघ ११, १६ र १८ गते गरी तीन दिन खुल्लातर्फको प्रतियोगितामा बढीमा १७९९ (१८०० भन्दा कम) रेटिङ भएका नेपालभरबाट जुनसुकै इच्छुक खेलाडीले यसमा सहभागिता जनाउन सक्नेछन्।

विद्यालयतर्फ पनि नेपालभरबाट छात्र र छात्रातर्फ छुट्टाछुट्टै सब जुनियर, जुनियर र सिनियर गरी तीन समूहमा १७ र १८ गते चल्ने उक्त प्रतियोगितामा क्रमशः कक्षा १ देखि ४, कक्षा ५ देखि ७ र कक्षा ८ देखि १० सम्मका बालबालिका खेलाडीहरूले आ–आफ्ना विद्यालयबाट सहभागिता जनाउन सक्नेछन्।

विद्यालयमा शिक्षिकाका रूपमा रहनुभएकी स्व. श्रेष्ठ अमेरिकामा सडक दुर्घटनामा परी दिवंत भएकी थिइन्। विद्यालय संस्थापककै कान्छी सुपुत्री स्व. श्रेष्ठको योगदानको कदर गर्दै निजको स्मृतिमा यो प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनायो।

विगतमा भन्दा यस वर्ष पुरस्कारको राशी बढाउनुका साथै महिला खेलाडीलाई विशेषरूपमा थप प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्