देश संकटमा फस्यो



नेपाल सम्पूर्णरुपले दिशाहीन भएको छ। जनतालाई न्याय दिने कानुनी निकायहरू स्वयं जनतालाई दुःख दिने काम गरिरहेका छन्। यस्तो हुनु भनेको शासकहरू र नियमनकारी निकायमा बस्नेहरूको मानसिक दुर्बलताको परिणाम हो। सुरक्षा निकायमा बेथिति, अराजकता र भ्रष्टाचार व्याप्त छ।

सबैजसो सुरक्षा निकायहरू भ्रष्टाचारमा लिप्त छन्। त्यहाँभित्र देशभक्तिको थोरै अंश बाँकी भए पनि आजको संकटसँग जुधेर मुलुकलाई मुलुकजस्तो बनाउने नैतिक तागत र ल्याकत देखिँदैन।

दलका नेताहरूको कुकर्म जनताले भन्दा राज्यका सुरक्षा अंगले राम्रोसँग बुझेका थिए। राज्यका युनिफर्म पनि लगाउने र आफ्नै रगत र जनताको रगतमा होली खेल्दै आएका दलाल नेताहरूका रक्तरञ्जित गोडामा स्वाभिमानको भेटी चढाएर जागिर थामिराख्नेहरूको इतिहासमा समीक्षा पक्कै पनि हुनेछ।

राज्यसत्ताले कति गैरजिम्मेवार काम गर्यो भन्ने बारेमा बयान गरी साध्य छैन। युद्ध निम्त्यायो, राज्य खण्डित हुने अवस्थामा पुर्यायो। जातीय र भौगोलिक विभाजनका लागि जमिन तयार पार्ने काम गर्यो। भ्रष्टाचार, अनाचार, नातावाद र कृपावादको त बयान गरी साध्य छैन। देशलाई सम्पूर्णरुपले विदेशीको क्रीडास्थल बनाउने काम गरियो।

नेताहरू र राज्यका महत्वपूर्ण निकायका पदाधिकारी मात्र होइन, समाजका गन्नेमान्ने भनिनेहरू विदेशीले दिएको दारुपानी र चौरासी व्यञ्जन हसुर्न थाले। एउटा नागरिकले चाहे त्यो जुनसुकै ओहदा र ज्ञानको ज्ञाता होस्, उसले आफ्नो राष्ट्रका बारेमा, समाजका बारेमा कतिसम्म बोल्ने, को–कोसँग भेट्न पाउने र को–कोसँग के–के लिन पाउने वा नपाउने भन्ने कुराको कुनै टुंगो भएन।

जे मन लाग्छ बोल्न पाउने र जे मन लाग्छ, जसको पनि लान र खान पाउने छाडा संस्कृतिलाई लोकतन्त्र हो भनियो। कसैले लज्जाबोध पनि गर्दैनन्।

यस्तो तल्लो स्तरको चेतना बोकेर राज्य र समाज हाँक्नुजस्तो खतरा अरू केही हुनै सक्तैन। किनकि विगतको एक दशक लामो युद्ध कुन विवेकमा आधारित थियो र ? यो प्रश्नको उत्तर आजसम्म मै हुँ भन्ने विद्वान्ले समेत दिन सक्दैन।

राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको राजसंस्थालाई देश–विदेशले लामो षड्यन्त्र गर्दै राष्ट्रिय राजनीतिबाट जबर्जस्ती बाहिर पार्ने जुन काम गरियो, त्यसको भित्री उद्देश्य नेपाल राष्ट्रलाई अन्ततः मास्ने भन्ने नै थियो।

शाहवंशले निर्माण गरेको शाही नेपाली सेनाले एउटा शाहवंशको सुरक्षा गर्न नसक्नु र त्यही शाहवंशको अर्को राजालाई छोडेर विदेशीले तयार पारेका नेताहरूका गुलाम बन्न राजी हुनुले पनि नेपाल सुरक्षित कसरी रहन सक्छ ? यो प्रश्न गम्भीर बन्दै जान थालेको छ।

नेपाल बचाउने र आफू बाँच्ने जुक्ति अब स्वयं नेपाली जनताले आफंै खोज्नुपर्छ कि भन्ने अवस्थामा देश पुगेको छ। यो कुनै भावनात्मक कुरा मात्र होइन, नेपालका राजनीतिक घटनाक्रमले यही कुरालाई संकेत गरिरहेका छन्।

हामीले आशा गरौं, देशको रखवारी गर्ने जिम्मेवार निकायले समयमै देशको धरातलीय यथार्थलाई बुझेर उचित उपाय खोज्नेछन्। सबैलाई चेतना भया।

– टीकाप्रसाद वाग्ले, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्