हिट्स अवार्डमा ज्ञानुलाई लाइफ टाइम सविन र वनफुललाई बराबर अवार्ड



प्रमिशा पाठक

राजधानीमा शनिवार सम्पन्न २३औं हिट्स म्युजिक अवार्डमा गायक सविन राईले ह्याट्रिक गरेका छन् भने लोकपिय गायिका ज्ञानु राणालाई लाइफ टाइम एचिमेन्ट अवार्डबाट सम्मानित गरिएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न अवार्ड समारोहमा गायक सविन राईले गायक सविन राई एन्ड फेरोहले पप एवं रक गीत धन्यवादबाट ३ विधाको अवार्ड चुमी ह्याट्रिक गरेका हुन्।

सविनका साथमा उनको समूहले यो गीतबाट उत्कृष्ट समूह गायनसँगै रक गायन र पप एवं रक संगीत सिर्जनाको अवार्ड चुमेको हो। समारोहमा ५ दशकभन्दा लामो समयसम्म सांगितीक क्षेत्रमा योगदान पुर्याएवापत गायिका ज्ञानु राणालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरियो। गायिका राणाको सम्मानमा केही कलाकारले उनकाको गीतसमेत प्रस्तुत गरेका थिए।

कुल १६ विधामा अवार्ड प्रदान गरिएको समुहमा आधुनिक गायनतर्फ तिम्रो यादमा बोलको गीतबाट दीप श्रेष्ठले गायकको अवार्ड चुमे भने बनफुलबाट दुर्गा परियारले अवार्ड उचालिन्।

बनफुलले पनि ३ अवार्ड चुमेको छ। यो गीतबाट सुरेश अधिकारीले आधुनिक विधाको संगीत सिर्जना र फणिन्द्र राईले संगीत संयोजनको अवार्ड चुमे। त्यसै गरी आशाबाट वर्तिका एम राईले गीत रचनाको अवार्ड जितीन्।

मन मगनबाट दीपक बज्राचार्य सर्वोत्कृष्ट गीतको अवार्ड विजेता भए भने सुनिता कार्कीले सुनमालाबाट उत्कृष्ट गीति एलबमको अवार्ड पाइन्। गल्तीबाट बिक्रम बराल नवप्रतिभाको अवार्ड विजेता भए भने म जस्तै बन्न देऊबाट शिव परियार पप गायक, छोडेर नजाउबाट आस्था तामाङ मास्के पप गायिका, सालको पात टपरी हुनेबाट कुलेन्द्र विक र विष्णु माझी लोक गीतको अवार्ड विजेता भए।

त्यसैगरी नाच फिरिरीबाट महेश काफ्ले र मेलिना राई युगल गायनको अवार्ड विजेता बने। फिल्म चंगा चेटको गोजीमा दामबाट राजनराज शिवाकोटी फिल्मतर्फको उत्कृष्ट गीतको विजेता बने।

हिट्स नेपाल प्रालिको आयोजना भएको अवार्ड समारोहमा सविन राई एन्ड द फेरोहले आफुलाई अवार्ड जिताउने गीत धन्यवाद प्रस्तुत गरेका थिए भने दुर्गा परियारले पनि अवार्ड जितेकै गीत बन फुल गाएर सुनाएकी थिइन्। त्यसै गरी सुनिता कार्की र वर्तिका एम राईले पनि अवार्ड जिताउने गीत प्रस्तुत गरेका थिए।

तस्वीरहरू : रंगराज आचार्य

 

प्रतिक्रिया दिनुहोस्