रक्सी उत्पादन नियन्त्रण गर्न सर्वोच्चको आदेश



विकास भट्टराई, काठमाडौं। 

गैरकानुनीरूपमा सञ्चालनमा रहेका घरेलु मदिरा नियन्त्रणका लागि प्रभावकारीरूपमा अनुगमन गर्न आइतबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।

न्यायाधीशहरू हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले निर्देशनात्मक आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ।
जथाभावीरूपमा घरेलु मदिरा उत्पादन गरी राजस्व छली गरी जनस्वास्थ्यमा समेत गम्भीर असर परेको उल्लेख गर्दै त्यसलाई रोक लगाउन माग गर्दै कानुन न्याय तथा सामाजिक कल्याण मञ्चका तर्फबाट अधिवक्ता जगन्नाथ मिश्रलगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। रिट निवेदन गत वैशाख महिनामा दायर भएको थियो।

मदिरा ऐन–२०३१ मा अनुमति नलिई र तोकिएको सर्तमा मात्र मदिरा उत्पादन गर्न सकिने उल्लेख गरिएको छ। कानुनमा यस्तो प्रावधान भए तापनि नेपालका प्रायः हरेक क्षेत्रमा घरेलु मदिरा उत्पादन भइरहेको रिट निवेदनमा उल्लेख गरिएको थियो।

जथाभावी रुपमा घरेलु मदिरा उत्पादन गरिएको भए पनि सरकारका जिम्मेवार निकायहरूले त्यसलाई नियन्त्रण गर्न आनाकानी गरिरहेको भनी दाबी गरिएको थियो।

कानूनमा घरेलु मदिरा उत्पादन गर्न चाहनेले सरकारसँग अनुमति लिई वर्षको पाँच पटकसम्म रक्सी भए ३० लिटर र जाँड भए ६० लिटरसम्म बनाउन सकिने प्रावधान छ। कानूनमा यस्तो व्यवस्था भएपनि दैनिक दर्जनौं लिटर घरेलु मदिरा उत्पादन हुने गरेको रिट निवेदनमा उल्लेख छ।

मञ्चका महासचिव अधिवक्ता नवीन कार्कीले घरेलु मदिरा उत्पादन गर्न कुन–कुन पदार्थ प्रयोग गर्न पाउने हो भनी कतै पनि उल्लेख नभएको उल्लेख गर्नुभयो। नेपालको विभिन्न ठाउँमा घरेलु मदिरा उत्पादन गर्दा चप्पल, जुत्ता, मानिसको भित्री वस्त्रलगायतका सामग्री पनि प्रयोग गर्ने गरिएको बेला–बेलामा सार्वजनिक हुने गरेको छ।

सर्वोच्च अदालतले यस्तो किसिमको घरेलु मदिरा उत्पादनको बारेमा प्रभावकारी रुपमा अनुगमन, निरीक्षण तथा नियन्त्रण गर्न सरकारका सम्बन्धित विभिन्न निकायलाई निर्देशनात्मक आदेश दिएको छ।

दायर भएको रिट निवेदनमा गैरकानूनी रूपमा बन्ने गरेको मदिराले गर्दा राज्यले उल्लेख्य मात्रामा अन्तशुल्क पनि गुमाएको उल्लेख गरिएको थियो।

मदिरा ऐन, २०३१ को प्रस्तावनामा सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्नको लागि मदिराको उत्पादन, विक्री वितरण र निकासी पैठारी समेतमा नियन्त्रण गर्न वाञ्छनीय भएकोले सो ऐन जारी गर्नुपरेको उल्लेख गरिएको छ। घरेलु मदिरा सेवन गरेर व्यक्तिको मृत्यु भएको समाचार पनि बेलाबेलामा प्रकाशित–प्रसारित हुँदैआएका छन्।

प्रतिक्रिया दिनुहोस्