नेकपाको प्रस्तावित सभामुख अग्नि सापकोटा



मधुसूदन रायमाझी, काठमाडौं। 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भएको सहमतिअनुसार उहाँलाई सभामुख बनाउने निर्णय गरिएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले पुष्टि गर्नुभयो।

बैठकले उपसभामुखबाट डा. शिवमाया तुम्बाहाम्फेलाई पुनः राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। आइतबार बिहान सहमति भएलगत्तै अध्यक्षद्वयले तुम्बाहाम्फेलाई राजीनामा दिन पुनः आग्रह गरे पनि उहाँले राजीनामा नदिने अडान लिएको एक सचिवालय सदस्यले बताए।

संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा गत असोजमा जेल परेपछि खाली सभामुखको भूमिका उपसभामुख तुम्बाहाम्फेले निभाउँदै आउनुभएको छ।

कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी एकताको सन्देश प्रवाह गर्न शुरूदेखि नै पूर्वमाओवादीबाटै सभामुख हुनुपर्ने अडान राख्दै आउनुभएको थियो।

यद्यपि नेकपाले सभामुखको टुंगो लगाए पनि निर्वाचन प्रक्रिया अगाडि बढाउन उपसभामुख तुम्बाहाम्फेले नै राजीनामा दिनुपर्ने हुन्छ। उहाँले राजीनामा दिनुभएन भने अझै प्रक्रिया अघि बढ्न गाह्रो छ।

सापकोटाको विगत र वर्तमान

नेकपाले सभामुखका लागि छानेका सापकोटा सिन्धुपाल्चोकबाट ३ पटकसम्म प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ। उहाँ २०६४ र २०७० को संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो।

२०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटाले २०३५ सालमा नेकपा (चौम) बाट राजनीति शुरू गर्नुभएको थियो।

त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका सापकोटाले १५ वर्षसम्म शिक्षण पेसा गर्नुभएको थियो। नेकपाको स्थायी समिति सदस्य रहेका ६२ वर्षीय सापकोटा यसअघि दुईपटक मन्त्री भइसक्नुभएको छ।

उहाँ २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री र २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री बन्नुभएको थियो।

२०५१ असोजमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य बनेका सापकोटा २०५२ माघदेखि नै भूमिगत भई उहाँ २०५८ सालमा तत्कालीन नेकपा माओवादीको तर्फबाट गठित ३ सदस्यीय वार्ता टोलीका सदस्य रहनुभएको थियो।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुअघि उहाँ माओवादी केन्द्रको स्थायी समिति सदस्य हुनुहुन्थ्यो। जनयुद्धकालदेखि नै प्रचण्डनिकट सापकोटा प्रचण्डकै चाहनामा सभामुखको उम्मेदवार बन्न सफल हुनुभएको छ।

यद्यपि उहाँमाथि जनयुद्धकालीन एक घटना (हत्याकाण्ड) को आरोप लाग्दै आएकाले सभामुख भइसकेपछि उक्त मुद्दा ब्युँतन सक्ने कतिपय मानव अधिकारवादीको अड्कल छ।

प्रतिक्रिया दिनुहोस्