नागरिक अधिकार कुण्ठित पार्न खोजिएको भन्दै कांग्रेसको बिरोध



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति भक्तपुरले भक्तपुरका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई सचेत गराउने उद्धेश्यले ज्ञापनपत्र बुझाएको छ । भक्तपुर काँग्रेसका सभापति दुर्लभ थापाको नेतृत्वमा प्रदेश सभा सांसद कृष्ण्लाल भँडेल र रजनी जोन्छे लगायत जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागितामा दुधपाटीबाट नारा जुलुश सहित र्याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । प्रसाशनमा पुगी विरोध पत्र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई बुझाइएको थियो ।
नेपाली काँग्रेसले सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोधमा विधेयक सच्याउन माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझाएपछि आयोजित सभामा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नागरिक अधिकार र नागरिक स्वतन्त्रता बिरुद्ध सरकारले बिधेयक ल्याएको र नागरिक स्वतन्त्रता बिना लोकतन्त्र रहन नसक्ने भएकाले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसले विधेयकको बिरोध गरेको बताउनु भयो ।
विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भएकाले नागरिक अधिकार रक्षाका लागि बिधेयकको बिरोध गरिएको वताउदै पार्टी सभापति थापाले बिधेयक नेपाली काँग्रेसले कुनैपनि हालतमा पास हुन नदिने दावी गर्नुभयो ।
सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्थाको काँग्रेसले विरोध गरेको छ । यस्तै विशेष सेवा विधेयकमा अदालतको अनुमति नलिइ फोन ट्यापिङ गर्नसक्ने लगायतका प्रावधान सच्याउनु पर्ने काँग्रेसको माग छ ।
कांग्रेसले नेपाल बिशेष सेवा गठन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयकको पनि बिरोध गरेको छ । सो क्रममा नगर समितिका सभापति, पदाधिकारी तथा सदस्यहरु, वडा सभापति पदाधिकारी तथा सदस्यहरु र क्रियाशील सदस्य र कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्