बागमतीको विकासमा बेलारुसको सहयोग



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र नेपालका लागि गणतन्त्र बेलारुसका अवैतानिक महावाणिज्यदुत अजेयराज सुमार्गीबीच आइतबार भेट भएको छ ।
करिब आधा घण्टा भएको छलफलका क्रममा मुख्यमन्त्री पौडेलले अगाडि सारेका बागमती प्रदेशको महत्वपूर्ण योजनाहरु भीमफेदी–काठमाडौं सुरुङमार्ग निर्माण, पर्यटकीय विकासका कार्य, भौतिक पूर्वाधार कार्यहरु र सामाजिक, साँस्कृतिक तथा भौगोलिक विकासका लागि प्रदेश सरकारसँग निजी क्षेत्रले हातेमालो गर्दै अगाडि बढ्ने समझदारी भएको छ ।

उक्त अवसरमा मुख्यमन्त्री पौडेलले नेपालका लागि गणतन्त्र बेलारुसका तर्फबाट अवैतानिक महावाणिज्यदुत सुमार्गीसँगको छलफलमा समग्र विकासका योजनाहरु सफल बनाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

उहाँले बागमती प्रदेशको विकासका लागि सारिएका योजनामा हातेमालो गर्न बेलारुस सरकारलाई महावाणिज्यदुत सुमार्गीमार्फत् आग्रह गर्नुभयो । सुरुङमार्गको योजना अगाडि बढिसकेको बताउँदै मुख्यमन्त्री पौडेलले बागमती प्रदेश अब विकासको नमूना बन्नेतिर लागिसकेको बताउनुभयो ।

मुख्यमन्त्री कार्यालय हेटौंडामा भएको भेटमा महावाणिज्यदुत सुमार्गीले समग्र बागमती प्रदेशको विकासमा बेलारुस सरकारका तर्फबाट सहयोग हुने बताउनुभयो । भेटमा राष्ट्रिय तथा प्रदेशस्तरीय विकासका महत्वपूर्ण योजनाका विषयमा छलफल भएको थियो ।

पर्यटन पूर्वाधार, रोजगारी, पर्यटकीय विकास, पूर्वाधार विकासलगायत महत्वपूर्ण विषयमा छलफल भएको थियो । भेटमा आगामी दिनमा निजी क्षेत्र र प्रदेश सरकार मिलेर सहकार्य गर्ने तथा योजनाहरुको उद्धेश्यप्राप्तिका सन्दर्भमा समझदारीसमेत भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडा कायम गर्न सफल भएकोमा मुख्यमन्त्री पौडेललाई बेलारुसका तर्फबाट अवैतानिक महावाणिज्यदुत सुमार्गीले धन्यबाद दिँदै प्रदेश विकासका लागि बेलारुस सरकारका तर्फबाट उल्लेख्य भूमिका खेल्न आफू तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्