राजधानी र नाम तोक्ने काममा ढिलाई नगर्न प्रदेश सदस्यहरुको सभामा ध्यानाकर्षण



यमलाल भुसाल, बुटवल ।
प्रदेशको राजधानी र नाम तोक्ने काममा ढिलाई नगर्न प्रदेश सभाका सदस्यहरुले सभाको ध्यानाकर्षण गराउनु भएकाे छ ।
आईतवारदेखि सुरु भएको प्रदेश नं. ५ प्रदेश सभाको पाँचौ अधिवेशनमा सुरुमै बाेल्ने प्रदेश सदस्यहरुले यो अधिवेशनले प्रदेशको राजधानी र नाम टुङ्गो लगाउनु पर्नेमा जोड दिएका छन ।
प्रदेश सभाका सदस्यहरुले प्रदेश ५ का नेपाली कांग्रेसका संसदीय दलका नेता वलदेब शर्मा पोखरेलको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।
यसैगरी उपनिर्वाचनबाट प्रदेश सभाको सदस्यमा दाङबाट निर्वाचित बिमला ओलीलाई स्वागत समेत गरेका छन ।

प्रदेश सभामा बोल्दै राष्ट्रिय जनमोर्चाको तर्फवाट प्रदेश सभा सदस्य तारा जिसीले अहिले तीब्र विवादको रुपमा देखापरेको एमसीसी खारेज गर्नुपर्ने बताउनु भयो । उहाँले एमसीसी देश र जनताको हितमा नरहेकोले यसको विरोध गर्नुपर्ने बताउनु भयो ।

समाजबादी पार्टीका सांसद सन्तोष पाण्डेले प्रदेशका जनता अझैपनि गरिवी र भोकमरीबाट आक्रान्त रहेकोले मुख्यमन्त्री खाद्य योजना समिति वनाउन माग गर्नुभयो ।
नीजि क्षेत्रले नै अहिले २०–२५ रुपैयाँमा गरिव जनतालाई खाना खुवाईरहेकोले प्रदेश सरकारले पनि कल्याणकारी कार्यक्रम मार्फत गरिव जनतालाई भोजनको व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले प्रदेशको नाम र राजधानीको विषय अहिले सवैको चासो र चिन्ताको विषय भएकोले यसको टुंगो यही अधिवेशनले लगाउनु पर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका फकरुद्दीन खानले जनताको गुनासो सुन्ने प्रतिनिधिहरुले प्रदेश सभामार्फत नै सरकारको ध्यानाकर्षण गराउने भएकोले लामो समयसम्म पं्रदेश सभाको अधिवेशन नगराउनु राम्रो नहुने बताउनु भयो ।

उहाँले प्रदेशको राजधानी र नाम एकमतले टुंगो लगाउन सकेमा बाहिर सन्देश राम्रो जाने र त्यसले प्रदेशकै गरिमा बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसकी निर्मला क्षेत्रीले जनताको मर्म र भावना अनुसार अव प्रदेशको राजधानी र नाम तोक्ने काममा ढिलाई नगर्न प्रदेश सभाको ध्यानाकर्षण गराउनुभयो ।

नेकपाका दिपेश थारुले जनताले अनुभूति पाउने गरी प्रदेश सभाले अव प्रदेशको राजधानी र नाम पाउने विश्वास व्यक्त गर्दै अव यही अधिवेशनले नै यसको टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो ।

नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभामा विशेष समितिले प्रतिवेदन बुझाईसकेकोले अव प्रदेशको राजधानी र नामका विषयमा छलफल गर्नुपर्ने भन्दै यही अधिवेशनबाटै त्यसको टुंगो लगाउन प्रदेश सभाका सवै सदस्यहरुलाई आग्रह गर्नुभयो ।

उहाँले प्रदेश सभाका सदस्यहरुवीचमै छलफल गरि विशेष समितिले बुझाएको प्रतिवेदनले दिएको सुझावलाई समेत मध्यनजर राख्दै छलफलबाटै राजधानी र नाम टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले सहमति र संवादकै माध्यमबाट विगतमा पनि प्रदेश सभा अघि बढेको र अव पनि प्रदेश सभालाई सहमति र सम्बादकै थलोको रुपमा अघि बढाउन सत्ता र प्रतिपक्ष नभनिकन अघि बढ्नु जरुरी रहेकोमा जोड दिनुभयो ।

त्यसअघि प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको बैठक आह्वान सम्वन्धि पत्र सभामुखले पढेर सुनाउनु भएको थियो भने चौथो अधिबेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भई आएको प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सम्वन्धि पत्र सभामुखले पढेर सुनाउनु भएको थियो । प्रदेश सभाको अर्को बैठक माघ १२ गते बस्ने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्