नगरकोट क्षेत्रका ४८ होटलको अनुमगन, तीन जोखिममा, तीन अति उत्तम



मोतीराम तिमल्सिना, काभ्रे । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेल काभ्रे र काठमाडौले नगरकोट क्षेत्रमा रहेका ४८ वटा होटल तथा रिसोर्टहरुको अनुगमन, निरिक्षण गरी स्टिकर वितरण गरेको छ ।

काभ्रे जिल्लामा रहेका ३४ वटा होटल रिसोर्ट खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेले अनुगन निरिक्षण गरेको थियो भने काठमाडौको आयोजनामा भक्तपुर जिल्लामा पर्ने १४ वटा गरि ४८ वटा होटलहरुको अनुगमन मुल्याङ्कन गरेको थियो । अनुगमन गरिएका मध्ये ४५ वटा होटलहरुको स्तरीकरण भएको छ भने तीन वटा होटलहरु स्तरीकरण गर्न नसकिएको काभ्रे प्रमुख शिवप्रसाद भण्डारीले जानकारी दिनु भयो । काभ्रे जिल्लामा पर्ने ३४ होटलहरु मध्ये मिस्टीक माउन्टेन र होटल कन्ट्री भिल्ला अति उत्तम देखिएका छन् । दुबै होटलहरुले क्रमश १ सय पुर्णाङ्गमा ९२ र ९१ नम्वर प्राप्त गरेका छन् । यो होटलहरु आफैले गरेको स्वमुल्यांकन हो ।

स्वमुल्यांकनका लागि आवश्यक प्रश्नावली सहितको फाराम उपलब्ध गराईएको थियो । होटल हिमालयन भिल्लाले ८० नम्वर प्राप्त गरी उत्तम रहेको गुणस्तर चिन्ह प्राप्त गरेको छ । सन्तोषजनक मात्रै रहेका होटलहरु १५ वटा रहेका छन् । सामान्य अवस्थाका १४ वटा छन् भने जोखिम अवस्थाका दुईवटा छन् । ग्रेटर हिमालयन र नगरकोट प्याराडाईज होटल जोखिम अवस्थामा रहेको कार्यालय प्रमुख भण्डारीले बताउनु भयो ।

 

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्वर ६ नगरकोटमा पर्ने १४ होटलहरु मध्ये अति उत्तम एउटा, उत्तम एउटा, सन्तोषजनक अवस्थामा पाँचवटा र ७ वटा सामान्य अवस्थाका रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौका प्रमुख श्रीराम न्यौपानेले बताउनु भयो । भक्तपुर जिल्लाको नगरकोटमा रहेका होटलहरु मध्ये क्लव हिमालय अति उत्तम देखिएको छ ।

जसले १ सय पुर्णाङ्कमा ९५ नम्वर प्राप्त गरेको छ । बोजीनी नगरकोट रिसोर्टले ८१ नम्वर प्राप्त गरी उत्तम अवस्थाको गुणस्तर चिन्ह प्राप्त गरेको छ । होटल माउन्ट एभरेष्ट, होटल भ्याली भ्यू, होटल पानोरमा ईन, होटल रोयल, रत्नागिरी रिसोर्टले सन्तोषजनक अवस्थाको गुणस्तर चिन्ह प्राप्त गरेका छन् । होटल इट दि इन्ड अफ युनिभर्स, प्याराडाईज भिल्ला, लाङ्गटाङ्ग भ्यू वि एण्ड वि, होटल भन्ज्याङ्ग, वर्ग हाउस, होटल सिल्भर माउन्टेन, होटल मेरिगोल्डले सामान्य अवस्थाको गुणस्तर चिन्ह प्राप्त गरेको प्रमुख न्यौपानेले बताउनु भयो ।

होटलहरुलाई एक कार्यक्रमका बीच स्वमुल्यांकनमा उपलब्ध भएको नम्वरका आधारमा गुणस्तर चिन्ह प्रदान गरिएकाले आगामी दिनमा यसलाई सुधार गर्न अझै सक्रिय हुनु पर्ने बताईएको थियो ।

नेपाल भ्रमण वर्षमा आउने पर्यटकहरुका लागि मात्रै नभई होटल तथा रेस्टु्ेन्टमा आउने हरेक समयका पाहुनाहरुलाई गुणस्तर सेवा उपलब्ध गराउन खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालयले देशभर होटल तथा रेष्टुरेन्ट, पसलहरु, उद्योगहरुको अनुगमन गरिरहेको छ । यस अघि काभ्रेपलाञ्चोक जिल्लाका बनेपा, पनौती, धुलिखेल तथा अन्य विभिन्न क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टहरुको अनुगमन निरिक्षण गरिएको प्रमुख शिवप्रसाद भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्