राहदानी बनाउन नक्कली नागरिकता पेस गरेपछि..



शिक्षा पन्त, लमजुङ ।

जिल्ला प्रशासन कार्यालय लमजुङ मार्फत एक युवकले राहदानी बनाउन नक्कली नागरिकता पेस गरेको तथ्य खुलेको छ ।

राहदानी बनाउन आएका साविक मालिङ गाविस ६ ठेगना उल्लेख गरिएको सुवास लामालाई प्रशासनले नियन्त्रणमा लिएको हो । लामाले पेस गरेको नागरिकता नक्कली भेटीएपछि अनुसन्धानका लागी प्रशासनले युवकलाई प्रहरी नियन्त्रणमा लिएको छ । राहदानीका लागी आवश्यक कागजात पेश गर्दा नागरिकता संकास्पद देखिएपछि अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनुभयो ।

प्रारम्भिक अनुसन्धानबाट लामाको नाममा रहेको नागरिकता नक्कली भेटीएको र नागरिकतासहित युवकलाई नियन्त्रणमा लिइएको प्रजिअ खड्काको भनाई छ । जिल्ला प्रशासन कार्यालय लमजुङबाट जारी गरिएको देखिएको उक्त नागरिकतामा प्रमाणपत्रको नम्बर ४५ हुनुपर्नेमा ४४ उल्लेख छ । उक्त कोड गोरखा जिल्लाको कोड हो । २०७४ साल बैशाख ३१ गतेको स्थानिय तहको निर्वाचनपछि तत्कालीन मालिङ गाविस क्होलासोंथर गाउँपालिका २ भएको छ ।

२०७४ पुस १७ गते जारि गरिएको उक्त नक्कली नागरिकतामा मालिङ ६ उल्लेख छ । नागरिकता जारि गर्ने व्यक्तिको ठाउँमा प्रशासकिय अधिकृत डिल्लीप्रसाद श्रेष्ठ रहेको भेटीएको प्रशासनले जनाएको छ । तर जिल्ला प्रशासन कार्यालयमा प्रशासकिय अधिकृतको दरवन्दी र उक्त पद नहुने प्रजिअ खड्काको भनाई छ ।

श्रेष्ठ तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय गोरखामा कार्यरत रहेको खुलेको छ । नागरिकतामा प्रशासन कार्यालयको छाप असुद्ध भएकाले नक्कली छाप हुन सक्ने प्रशासनले जनाएको छ । प्रजिअ खड्काले नागरिकतामा ६ वटा गलत कुरा भेटीएपछि अनुसन्धान थालिएको हो । बिहीबार जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागी कागजपत्र पेश गरेका लामालाई प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख रविन्द्रमान गुरुङले लामालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताउनुभयो । उहाँले भन्नुभयो लामालाई सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा मुद्धा चलाउने तयारी गरिएको छ । लिखत सम्बन्धी कसुर अन्र्तगत किर्तेमा मुद्धा चल्ने र आइतबार उक्त मुद्धा अदालतमा दर्ता भएको डिएसपी गुरुङले बताए । उहाँका अनुसार युवक भारतको सिलोङमा भर्ती हुन गएको र भर्ती हुने क्रममा कागजपत्र बुझाएपछि उक्त नागरिकता फिर्ता गरिएको डिएसपी गुरुङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्