डिपार्टमेन्टल स्टोरको सेफ फोडेर साढे ५ लाख रकम चोरी गर्ने दुई पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

गोंगबुस्थित बिग मार्ट (डिपार्टमेन्टल स्टोर) को सेफ फोडेर नगद चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ घर भई काठमाडौंको टोखा–१० बस्ने बिग मार्टकै कर्मचारी बिशाल गुरुङ र उनका साथी बागलुङ घर भइ काठमाडौंको टोखा–८ बस्ने २३ वर्षीय दीपक पुन रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले शनिबार राति मार्टमा रहेको सीसीटीभी क्यामेरामा टेप टाँसेर ५ लाख ३१ हजार रुपैयाँ चोरी गरेका थिए । उनीहरुले नगदसहित २४ हजार १ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गरेको प्रहरीले जनाएको छ । बिहान पसल खोल्दा चोरी भएको थाहा पाएपछि त्यहाँ कार्यरत अन्य कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको खबर पाए लगत्तै मार्टमा पुगेको प्रहरीले अघिल्लो दिनको सिसिटिभि फुटेज हेरेको थियो । उक्त फुटेजको अन्त्यसम्म बिशालनै पसलमा रहेको देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा बिशालको टोखस्थित कोठामा खानतलासी गर्दा प्रहरीले उक्त नगद फेला पारेको थियो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्