एमसीसी नेपालको हितमा छ,संसदले पास गर्छः मन्त्री गुरुङ



बिमल विष्ट, डोटी ।

संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अहिले चर्चामा रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताएका छन् । छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिमको भ्रमणमा रहेका मन्त्री गुरुङले एमसीसीमा अनावश्यक विवाद भइरहेको बताए ।

आइतबार डोटी जिल्ला सदरमुकाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले एमसीसीबारे बहस हुनु राम्रो भए पनि अहिले देखिएको कतिपय विवाद अनुचित भएको दाबी गरे । ‘विषयले संसदमा प्रवेश पाएपछि बहस, छलफल हुन्छ,’, मन्त्री गुरुङले भने, ‘यो प्रस्ताव संसदले सहजै अनुमोदन गर्छ ।’

नेकपाभित्रैबाट एमसीसीको विरोध भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले भने स्वार्थका कारण कतिपयले विरोध गरेको आरोप लगाए । उनले भने– एमसीसी नेपालको हितमा छ । तैपनि के स्वार्थका कारण उहाँहरू विरोध गरिरहनु भएको छ, गर्नेलाई नै सोध्नुस् ।’

फरक प्रसंगमा उनले छिट्टै डोटीको बालसुधार गृहको स्तरोन्नति गरिने बताए । टोलमा रहेका डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमवहादुर आले मगरले पनि बाल सुधार गृह निर्माणका लागि तत्काल पहल गरिने प्रतिबद्धता जनाए । २५ जना क्षमताको डोटीको बालगृहमा हाल ४७ जना राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्