नेकपालाई सभामुख छान्न सकसः प्रचण्ड र ओलीको कुरै मिलेन



न्युज अफ नेपाल, काठमाडौं ।

सभामुख छान्नको लागि सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीसँग परामर्श गर्न प्रचण्ड आइतबार बिहानै बालुवाटार पुगेका हुन् ।

नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भएको एक महिना पुग्दा पनि संसदको नियमित कारवाही अघि बढ्न सकेको छैन ।

यसबीचमा पटक–पटक सूचना टाँसेर बैठक स्थगित हुँदै आएको छ । उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन पटक–पटक आग्रह गर्दा पनि राजीनामा दिन नमानेपछि सभामुख चयन गर्न नसकिएको नेकपा बताउँछ । उनले सभामुखको उम्मेदवार तय गरेपछि आफूले राजीनामा दिने बताएकी छन् । उनी आफैं सभामुखको दाबेदार हुन् र आफूलाई उम्मेदवार नबनाए राजीनामा नदिनेसम्मको चेतावनी उनले दिँदै आएकी छन् ।

नेकपाका दुवै अध्यक्षले सभामुखमा आ–आफ्ना पूर्वसमूहका नेताको नाम अघि सारेका छन् । प्रधानमन्त्रीले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने प्रचण्डले अग्नि सापकोटा लगायतका नेताको नाम अघि सारेका छन् ।

नेकपाको केन्द्रीय सचिवालयका ९ जना नेतामध्ये प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सभामुख उम्मेवार प्रचण्डले प्रस्ताव गर्न पाउनुपर्ने पक्षमा रहेको स्रोतको दावी छ ।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्दैछ । बैठकअघि नै नेकपाले सभामुखको उम्मेदवार तय गर्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्