कोरियन पोल्ट्री विशेषज्ञ हेटौंडामा



नेपाल समाचारपत्र, हेटौंडा।

मकवानपुर उद्योग वाणिज्य संघको निमन्त्रणामा दक्षिण कोरियाको मल्टिनेसनल पोल्ट्री कम्पनी हारिम पोल्ट्री फार्मबाट विशेषज्ञ टोली नेपाल आएको छ।

नेपाल आएको टोलीले संघ अध्यक्ष कृष्ण कटुवाल र संघको कृषि समिति संयोजक कृष्ण ढुंगानाको संयोजनमा काठमाडौंमा पोल्ट्री महासंघका प्रतिनिधि र बेलारुसका महावाणिज्यदूत तथा लगानीकर्ता अजेयराज सुमार्गीलगायतसँगको छलफलपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र संघमा छलफल गरेको छ।

छलफलमा इच्छुक स्थानीय किसान तथा लगानीकर्ताले आवश्यक महशुस गरे कोरियामै २ देखि ३ महिनासम्म तालिम प्रदान गर्न पनि सकिने हारिम पोल्ट्री फार्मका भाइस प्रेसिडेन्ड जुङ मुन सङ्ले बताउनुभयो।

हारिम पोल्ट्री फार्मले नेपाललाई मिल्दो पोल्ट्री फार्म भियतनाममा शाखाको रुपमा सञ्चालन गरेकोले त्यहाँ गएर पनि अध्ययन, अवलोकन गर्न सकिने उहाँले बताउनुभयो।

विशेषज्ञ टोली ल्याएर कोरियाबाट नेपाल ल्याउन एनआरएन कोरिया अध्यक्ष यज्ञराज सुवेदीले विशेष पहल गर्नुभएको थियो। उहाँकै नेतृत्वमा ५ सदस्यीय टोली नेपाल आएको हो।

कोरियन टोलीलाई हेटौंडामा स्वागतसहित छलफल गरिएको थियो। संघ अध्यक्ष कटुवालले भ्रमणले नेपाली कुखुरा व्यवसायीलाई प्राविधिक ज्ञान हासिल गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो। कोरियामा कुखुराको मासुले अन्य बंगुर तथा बिफभन्दा पनि ठूलो हिस्सा ओगटेको छलफलमा बताइएको थियो।

आफ्नो नेपाल भ्रमणको अनुभवसहित कोरियन अनुभवले कुखुरा व्यवसायीलाई राम्रोसँग सिक्ने अवसर प्रदान गर्ने उहाँले बताउनुभयो। कोरियामा रहेका नेपालीलाई कुखुरापालन तथा बंगुरपालन गर्न सिकाइरहेको बताउँदै कुखुरा व्यवसायलाई माथि उठाउन ज्ञान हस्तान्तरणको कार्य गर्ने टोलीका सदस्यहरूले बताएका थिए।

अमेरिकाको एलेन कम्पनीलाई २०११ मा किनेर त्यहाँ पनि पोल्ट्री व्यवसाय गरिरहेको बताउँदै १.५ किलो दानाबाट १ किलो कुखुरा उत्पादन गर्न सकेको पनि उहाँले बताउनुभयो।

हाल कोरियामा ९७ प्रतिशत कुखुरा किसानबाट खरिद गरी प्रोसेस गरेर मार्केटमा बिक्री गर्ने गरेको र त्यसका लागि ६ सय ५० वटा फार्मबाट नियमित कुखुरा खरिद गर्ने गरेको जानकारी उहाँले दिनुभयो।

नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ५६ वटा अण्डा र १२ किलो मासु उपभोग गर्ने अनुमानित आँकडा रहेको छ। कोरियामा भने प्रतिव्यक्ति प्रतिवर्ष ३ सय वटा अण्डा र १५ किलो मासु उपभोग गर्ने गरेको तथ्यांक रहेको छ।

छलफलमा पोल्ट्री व्यबसायीहरूले दानाको लागत घटाउने विषयमा राखेको जवाफमा हरिमका सङ्गले गुणस्तरीय चल्ला तथा आफैंले दाना उत्पादन गर्न सके दानाको लागत घटाउन सकिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्