हिउँ पहिरोमा १ नेपालीसहित ५ बेपत्ता



पोखरा, (नेस)।

अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा आएको हिमपहिरोमा हराएका ४ कोरियाली नागरिक, १ नेपाली अझै सम्पर्कविहीन रहेका छन्। १ नेपाली र १ चिनियाँ घाइते अवस्थामा भेटिएका छन्।

कोरियाली नागरिकहरू काठमाडौँको ट्रिप नेपाल माउन्टेन गाइड नामक कम्पनीबाट टिम्स शुल्क काटेर गएका कोरियाली पर्यटक ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सुक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन हराइरहेका छन् भने चिनियाँ नागरिक जोङ योङजी र जगदीश खत्री हिउँ पहिरोको कारण घाइते भएका छन्।

उनीहरू १२ तारिखबाट एबीसी घुम्नका लागि गएका थिए। ९ दिनमा फर्कने योजनाअनुसार उक्त टोली हिँडेको सरोज परियारका भाइ शिव परियार बताउँछन्। शुक्रबार साँझ मात्र उनीहरू बेपत्ता भएको थाहा भएको थियो।

चितवन घर भएका सरोज परियार कोनाको ट्रेकिङ एजेन्सीबाट गएका हुन्। काउन्सिल ट्राभल एजेन्सीबाट गएका म्याग्दी बेनीका जगदीश खत्री सामान्य घाइते भएका छन्।

खत्रीलाई पोखरा ल्याइँदै छ। सम्पर्कविहीन रहेको ठाउँ हिक्कु क्यापको नजिकै शनिबार पनि हिउँ पहिरो गइरहेका बताइएको छ। उक्त ठाउँमा मौसम सफा नभएसम्म जान समस्या हुनेछ।

एमबेसीभन्दा माथि रहेका र तल रहेका बीच मौसमको कारणले सम्पर्क नभएको टेक तामाङ बताउनुहुन्छ। उहाँले एमबेसीलगायतका एबीसीको जाने बाटोमा ४ फिटभन्दा बाक्लो हिउँ परेको बताउनुभयो । सोही कारण सम्पर्क हुन नसकेको तमाङको भनाइ छ।

अन्नपूर्ण आधार शिविरमा बाटोमा पर्ने छुमरुङभन्दा माथि होटलमा रहेका सबै विदेशी र नेपालीलाई हेलिकोप्टरबाट शनिबार बिहानदेखि नै उद्धार गरिएको छ। शुक्रबार साँझसम्म अन्नपूर्ण आधार शिविरमा अलपत्र परेकालाई उद्धार गरिएको थियो।

डाइनेस्टी एयरलाइन्स कम्पनीको हेलिकोप्टरले १० जना कोरियाली नागरिक, ९ जना चिनियाँ नागरिक र १ जना नेपाली नागरिकलाई पोखरामा विमानस्थलसम्म उद्धार गरेको छ। डाइनेस्टी एयरलाइन्सले ४ पटकमा उनीहरूको उद्धार गरेका थियो भने प्रभु हेलिकोप्टरबाट ५ जना नेपाली र ७ जना चिनियाँ नागरिकलाई उद्दार गरिएको छ। प्रभुको हेलिकोप्टरले ३ टिप उद्धार गरेको थियो।

सिम्रिकको हेलिकोप्टरबाट १४ जना कोरियाली र ५ जना नेपालीलाई पोखरासम्म उद्दार गरिएको पर्यटन प्रहरीले जनाएको छ। सिम्रिकको हेलिकोप्टरले ५ टिपमा उद्धार गरेको प्रहरीले जानकारी दिएको छ।

प्रभु, डाइनेस्टी र सिम्रिक हेलिकोप्टरबाट अन्नपूर्ण आधार शिविरको विभिन्न ठाउँमा होटलमा रहेको हजारभन्दा बढी नेपाली र विदेशीलाई छुमरुङसम्म उद्धार गरिएको छ। उद्धार गरिएका सबै वयस्क रहेको पर्यटन प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्