बेमौसमी झरी : जलवायु परिवर्तनको संकेत



जलवाय परिवर्तनको प्रभाव बालीसँगै किसानको जीवनमा पनि परेको छ। वातावरणीय क्षेत्रमा पानी धेरै पर्नुलाई अतिवृष्टी भनिन्छ भने पानी कम परेर खडेरी पर्नुलाई अनावृष्टि भनिन्छ। कृषि कर्म गर्नेहरूका लागि दुवै वृष्टि शत्रुजस्ता छन्। तर किसानसँग चुपचाप सहनुबाहेक अरू विकल्प पनि केही छैन।

वायुमा कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइडजस्ता ग्यास, सूर्यबाट आएका विकिरणहरू पृथ्वीमै सञ्चित भएर बस्छन् र धर्तीमा तापक्रम बढाउँदै लैजान्छन्। जसका कारणले गर्मी याम अत्यधिक गर्मी र जाडो अत्यधिक जाडो हुँदै गएको देखिन्छ।

हिम पातलिँदै जाँदा पानी समयमा नपर्ने र कुन बेला बेमौसमी पानी परेर बाढीसमेत निम्त्याउने गरेका दृष्टान्तहरू हाम्रा सामु रहेका छन्।जलवायु परिवर्तनको प्रभावस्वरूप पछिल्लो समय गर्मी ठाउँमा पाइने करेत सर्प पहाडी जिल्ला पर्वतमा समेत पाइयो।

यसका साथै सोलखुम्बु जिल्लामा लामखुट्टेसमेत पाइयो। यी उदाहरणले जलवायु परिवर्तनले हाम्रो दैनन्दिन जीवनमा कस्तो खालको प्रभाव पारेको छ भन्ने बलियो प्रमाण दिएका छन्।

जलवायु परिवर्तनको समस्या झन्–झन् बढ्दै जाँदा पनि सरकारले यो विषयमा केही गर्न सकेको छैन। कहीँ कतै हल्ला पनि सुनिदैन।
सरकारले न्यूनीकरणका उपायहरू अपनाउन नसके तापनि अनुकूलनका उपायहरूमा ध्यान पुर्याउन अपरिहार्य छ।

जस्तै– तराईका कृषियोग्य जमिनमा समयमा सिंचाइको व्यवस्था गर्न सकिएको भए त्यहाँका किसानहरूले क्षति बेहोर्न पर्दैनथ्यो होला। उत्पादन बढाउनका साथै भविष्यमा जलवायु परिवर्तनबाट हुन सक्ने क्षतिबाट बच्न सरकारले समयमा ठोस कदम चाल्नुपर्छ।

विकसित देशले वातावरणमा गरेको प्रभावस्वरूप हामीले जलवायु परिवर्तनजस्तो डरलाग्दो परिस्थितिको सामना गर्नुपरेको छ। प्लास्टिक टनेलको प्रयोग तथा उन्नत कृषि प्रयोग गरी सजिलै जलवायु परिवर्तनबाट कृषिमा लाभ पनि लिन सकिन्छ।

यसैबाट बेमौसमी तरकारी खेतीलाई अगाडि बढाउन सकिन्छ। आकाशे पानीको सञ्चय गरी पुनः प्रयोग कृषिमा गर्नुपर्दछ। जलबायु परिवर्तन रोक्न हामीबाटै प्रदूषण कम हुनुपर्दछ। यस विषयमा सबै जानकार र जागरुक हुन अति आवश्यक छ।

– निरज श्रेष्ठ, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्