हवाई भिजिबिलिटी ५० मिटरभन्दा कम



नेपाल समाचारपत्र, काठमाडौं।

दुई दिनको झरीपश्चात् बढेको भुइँ कुहिरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा प्रत्यक्ष प्रभावित बनेको छ। हवाई भिजिबिलिटी घटेपछि शनिबार बिहानभर उडान प्रभावित बन्यो।

विमानस्थल कार्यालयको ब्रिफिङ शाखाका अनुसार माउन्टेन फ्लाइट र बिहानका अन्य उडानहरू ठप्प भए। ‘बिहान ५ बजेदेखि ८ बजेसम्मको भिजिबिलिटी ५० मिटरभन्दा पनि कम भएपछि सेवा ठप्प भयो, १० बजेपछि मात्रै विमानस्थल आंशिकरूपमा सुचारु भयो।’ –सो शाखाका एक अधिकारीले भने।

सबै प्रकारका जहाज उडान र अवतरणका लागि तीन हजार मिटर हाराहारीको हवाई भिजिबिलिटी आवश्यक पर्ने विज्ञहरू बताउँछन्। मौसम बिग्रिएपछि शनिबार बिहान मलेसियाबाट १० बजेको हाराहारीमा काठमाडौं अवतरण हुने नेपाल एयर लाइन्सको विमान भारतको दिल्लीतर्फ डाइभर्ट भएको थियो।

विमानस्थल कार्यालयका अनुसार यसरी नै नेपाल एयर लाइन्सकै ताप्लेजुङ र भोजपुर, श्री एयरको भद्रपुर र विराटनगर र बुद्धको पोखरा उडान रद्द भएको थियो।

यसैबीच पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएपछि मौसममा क्रमिक सुधार आउन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसममा पूर्ण सुधार आउन अझै केही दिन लाग्ने भएकाले भोलि सोमबारसम्म पहाडी र हिमाली भेगको मौसम धुमिने र हल्का वर्षा हुने महाशाखाको ठहर छ।

प्रतिक्रिया दिनुहोस्