गणतन्त्र स्मारक जेठ १५ देखि खुला गरिने



ईश्वरराज ढकाल, काठमाडौं।

आउँदो गणतन्त्र दिवसको दिन अर्थात् २०७७ जेठ १५ गतेदेखि सर्वसाधारणका लागि गणतन्त्र स्मारक खुला गरिने भएको छ।
सरकारले स्मारक नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेपछि १२औं गणतन्त्र दिवसको दिन सो स्मारक खुला गर्ने गरी तयारी शुरू गरिएको हो।

निर्माण सम्पन्न भएको सात वर्षपछि हस्तान्तरण भएको स्मारकलाई व्यवस्थापन गर्न कम्तीमा पनि तीन महिना लाग्ने भएकाले सोहीअनुसार तयारी शुरू भएको समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताउनुभयो। शहरी विकास तथा भवन निर्माण विभागले २०६९ चैतबाट गणतन्त्र स्मारक निर्माण शुरू गरेको थियो।

आउँदो गणतन्त्र दिवसका दिन सो स्मारक सर्वसाधारणका लागि खुला भएपछि नारायणहिटी संग्रहालय परिसरमा निर्माण भएको शहीद स्मारकमा राष्ट्रिय शहीद दिवसको दिन शहीदप्रति सम्मान गर्ने व्यवस्था गर्न लागिएको छ।

गणतन्त्र आउनुअघि शहीद गेटमा रहेका चार शहीदको सालिकमा सम्मान गर्ने गरिन्थ्यो। गणतन्त्र आएपछि लैनचौरस्थित शहीद स्मारकमा सम्मान गर्ने कार्यक्रम राखिँदै आएको छ।

स्मारकलाई विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुखको नेपाल भ्रमणमा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने स्थलका रूपमा विकास गरिने पनि आदेशमा उल्लेख छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा अन्य उच्चपदस्थ पदाधिकारी शहीदप्रति सम्मान व्यक्त गर्न यही स्तम्भमा पुग्ने व्यवस्था गठन आदेशमा उल्लेख छ।

समितिले परिसरभित्र प्रवेशका लागि शुल्क तोक्ने अधिकारसमेत पाएको छ। आदेशमा स्मारकको सुरक्षा, संरक्षण, संवद्र्धन र व्यवस्थापनका लागि अल्पकालीन नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने र गराउने व्यवस्थासमेत उल्लेख छ। स्मारकमा १२ मिटर उचाइ रहने स्मारकमा अप्पर बेसमेन्ट तथा लोअर बेसमेन्ट गरी दुई ग्यालरी छन्।

स्मारकमा चारवटा खम्बामा बेपत्ता पारिएका, अंगभंग भएका, मृत्यु भएकाको स्मरण गरिने गरी स्मारक निर्माण गरिएको छ। स्मारकको फ्लोरमा नेपालको नक्सा राखिएको छ। अन्डरग्राउन्डमा सहज ढंगले हावा पास गराउने प्रविधिको पनि प्रयोग भएको छ।

कार्यकारी निर्देशक दाहालले दक्षिण एसियाकै नमुना आधुनिक, डिजिटल स्मारकका रूपमा विकास गर्नेगरी सौन्दर्य थपिएको जानकारी दिँदै भन्नुभयो– ‘३५ रोपनीमा क्षेत्रफल ओगटेको स्मारकलाई थप सुविधा सम्पन्न बनाएर अबको चार महिनाभित्र खुला गर्नेछौं।

३५ रोपनीमध्ये ५ रोपनीमा मेमोरियल प्लाजा छ, जसमा शहीदहरूको सम्झना झल्किने तस्वीर र कलाकृति राखिनेछ।’तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिलान्यास गर्नुभएको स्मारकभित्र पिरामिड आकारको संरचनाको उच्च भागमा रहेको मेमोरियल प्लाजामा ‘नेपालको संविधान ०७२’ को शिलाकृति राखिने छ।

नेपाल सरकारको ४५ करोड रुपियाँ लागतमा निर्माण सम्पन्न हुने स्मारकमा प्रवेश गर्नका लागि १० वर्षसम्मका बालबालिका, नेपाली नागरिक, ६० वर्षभन्दा माथिमा नागरिक, विद्यार्थी, सार्क राष्ट्रका नागरिक र विदेशी गरेर वर्गीकरण गरी टिकट काट्नुपर्ने व्यवस्था मिलाइएको छ।

गतवर्ष ११औं गणतन्त्र दिवसकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीले स्मारक उद्घाटन गर्नुभएको थियो।

झोलुङ्गेपुल बनाउन प्रस्ताव

नारायण्हिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले नारायणहिटी संग्रहालय र गणतन्त्र स्मारक जोड्न झोलुङगेपुल निर्माणको प्रस्ताव गरेको छ।

७ सय ५३ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय परिसरमा हिँडेर आवातजावत गर्न निकै समय लाग्ने भएकोले संग्रहालय परिसरभित्र रहेको टुकुचा खोलामा झोलुङ्गे पुल राख्ने प्रस्ताव गरेको हो।

झोलुङ्गे पुल राखेपछि संग्रहालय र स्मारक एकैसाथ घुम्न सक्ने समितिले जनाएको छ।समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले भौतिक योजना मन्त्रालयलाई पुल निर्माणको प्रस्ताव गरेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘पर्यटकलाई आकर्षण गर्न पक्की पुलभन्दा पनि अवलोकन कर्ताले हिँडेरै दुई संग्रहालयको भ्रमण गर्न मिल्ने गरी झोलुङ्गेपुल बनाउने तयारी गरेका छौं।’

प्रतिक्रिया दिनुहोस्