थापा एमसीसीको पक्षमा



हेटौंडा, (नेस)।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले एमसीसीको विषयमा अनावश्यक बखेडा निकाल्ने काम भइरहेको बताउनुभएको छ। उहाँले एमसीसी नेपालको हितमा रहेको दाबी गर्नुभएको छ।

एमसीसीलाई नेपाल भित्याउन वर्षौं पहिलेबाट पहल शुरू भएको भन्दै उहाँले एमसीसीले नेपालको विकासमा सहयोग गर्ने दाबी गर्नुभयो। एमसीसीका कुनै बुँदामा अमेरिकाको सुरक्षा सवाल नजोडिएको भन्दै उहाँले केही व्यक्तिले एमसीसीलाई नराम्रो भनी व्याख्या गरेकोमा आश्चर्य जनाउनुभयो।

राप्रपानिकट ट्रेड युनियन महासंघ नेपालको बाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा शनिबार हेटौंडामा अध्यक्ष थापाले एमसीसी परियोजना सञ्चालन गर्दा भारतको अनुमति लिनुनपर्ने बताउनुभयो।

एमसीसीले नेपालको विद्युतीकरण, सडक निर्माणलगायत क्षेत्रमा निकै सहयोग गर्ने भन्दै उहाँले केही व्यक्तिले एमसीसी सम्झौतालाई धरापमा पार्ने काम गर्न खोजेको आरोप लगाउनुभयो।

अध्यक्ष थापाले एमसीसीले नेपाललाई कुनै अप्ठ्यारो नबनाउने भन्दै अमेरिकाले आर्थिक, सामाजिक र पूर्वाधार क्षेत्रमा सहयोग गर्दै आएको बेला र विशेषतः भूकम्पका बेला नेपालमा पुगेको क्षतिको अवस्था हेरेर सम्झौता भएको र यतिखेर कार्यान्वयनका बेलामा सकारात्मक र नकारात्मक विरोध भइरहेकामा दुःख व्यक्त गर्नुभयो।

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहायता नेपालका लागि अत्यन्त लाभदायक रहेको उहाँको भनाइ छ।

अमेरिकाले नेपालकै आग्रहअनुसार एमसीसी परियोजनमार्फत पाँच वर्षभित्र नेपालमा करिब ६० अर्ब रुपियाँ खर्च गर्ने सहमति गरेको भन्दै उहाँले उक्त योजना वर्षांैदेखिको रहेकाले यसले आर्थिक, सामाजिक र विकास निर्माणमा सहयोग पुर्याउने दाबी गर्नुभयो।

अन्तर्देशीय प्रसारणलाइन तथा सडक स्तरोन्नति तथा अन्य संरचना निर्माणका लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालको हितमा रहेको थापाले सुझाउनुभयो। ‘एमसीसी सम्झौता सदनबाट पास भएपछि नेपालमा कुनै किसिमका सैन्य गतिविधि हुँदैनन्।’ –उहाँले भन्नुभयो।

सत्तारूढ दल नेकपाभित्र चर्को मतभेद रहेकै अवस्थामा नेपालस्थित अमेरिकी दूतावासले एमसीसीमा कुनै पनि सैन्य मामिला नजोडिएको दाबी गरिसकेको छ।

‘नेपालका नेताहरूले यसबारे अपरिपक्व अभिव्यक्ति दिएका छन्। यसलाई पनि अरुण तेस्रोजस्तै धरापमा पार्न खोजिएको छ’, थापाले भन्नुभयो– ‘यो नेपाल र छिमेकी राष्ट्रको अहितमा छैन। यसलाई पास गरेर जानु नेपालको हितमा हुनेछ।’

प्रतिक्रिया दिनुहोस्