विकास निर्माणमा अवरोध गर्ने तथा समाजमा हुने गलत क्रियाकलाप निस्तेज पार्छाैः प्रहरी महानिरीक्षक खनाल



चितवन ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ईच्छाकामना गाउँपालिका–५ मुग्लिङ बजारस्थित ईलाका प्रहरी कार्यालय मुग्लिङको नवनिर्माण हुने कार्यालय भवनको शनिबार आयोजित एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले नयाँ भवनसँगै परिस्कृत प्रहरी सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै तोकिएको समयमै गुणस्तरीय भवन निर्माण सम्पन्न गर्नेतर्फ अग्रसर हुन निर्माणमा संलग्न सबैमा उहाँले आग्रह गर्नुभयो ।
नेपाल प्रहरीले अंगिकार गरेको समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप भएका गतिविधि अत्यन्तै फलदायी रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यस अन्तर्गत विभिन्न समिति र स्थानीय तहसँगको सहकार्यमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिनुभयो । साथै विकास निर्माणका गतिविधिमा अवरोधहरु पुर्याउने तथा समाजमा भएका गलत क्रियाकलापहरुलाई निस्तेज पार्न नेपाल प्रहरी संवेदनशील भएर अगाडि बढेको र सरोकारवाला निकायहरुसँग सहकार्य एवम् समन्वय गर्दै जानेमा उहाँले जोड दिनुभयो ।
नेपाल सरकारको नियमित बजेटबाट ४ कठ्ठा ६ धुर वर्ग मिटर क्षेत्रफलमा ईलाका प्रहरी कार्यालय मुग्लिङको ४ तल्ले भवन करिब ६ करोड ५८ लाख लागतमा निर्माण कार्य सम्पन्न हुने उक्त कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेत, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, ईच्छाकामना गाउँपालिकाका अध्यक्ष, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष, संचारकर्मीहरु, स्थानीय भद्रभलादमी तथा जनप्रतिनिधिहरु, आमा समूहका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्