‘पृथक बाटो’ प्रचलित परम्परा भन्दा फरक



पुष्पराज गिरी ।

‘पृथक बाटो’ लघुकथा संग्रह एक नवीनतम प्रकाशित कृति हो ।’ लघुकथा संग्रहका लेखक कथाकार युवराज मैनाली हुन् । ‘मुर्दा बोल्यो’ कथा संग्रह वि.सं २०३७ सालमा प्रकाशित गरेर कथाकारको रुपमा ३० को दशकबाट नेपाली साहित्य क्षेत्रमा उदाएका मैनालीका क्रमिक रुपमा केही प्रतिभा केही प्रवृत्ति समालोचना २०४२, भ्रष्टाचारको भाङ ब्याङ्ग्य निवन्ध संग्रह २०६५, समको पौराणिक नाट्य कौशल समालोचना २०६९, कर्मयोगी देवकोटा महाकाव्यको विश्लेषण समालोचना २०७० र प्रस्तुत लघुकथा संग्रह ‘पृथक बाटो’ २०७६ र विभिन्न फुटकर रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशन भइसकेका छन् ।

मैनालीका लेखन सहज नभइकन अतिनै गम्भिर, गहन भाषाशैलीका साथ सामाजिक विसंगतिका यथार्थता सशक्त रुपमा प्रवाहित भएका हुन्छन् । तर बोझिलो र अनावश्यक शब्द संयोजनको तन्काई विल्कुलै भेटिंदैन बरु मुक्त, स्वतन्त्र र निर्भिकताका साथ प्रकटीकरण व्यांग्यात्मक शैलीमा प्रस्तुत भएका देखिन्छन् । कथा, निवन्ध वा उनका धेरै कलम चलेका विधा समालोचना नै किन नहोस विषयगत रुपमा यथार्थ सामाजिक विसंगति र शैली व्यंग्यात्मक नै हुने गरेका छन्, तर अनावश्यक शब्द तन्काइएर जबरजस्ती लम्ब्याइएको नभई सिधै प्रस्तुत गर्न सक्नु र गहन शब्दावलीको उपयोग वा संयोजन गरेर प्रस्तुतीकरणलाई गम्भिर बनाउनु उनको विशेषता हो । यस्तै विकृति विसंगति माथिको व्यंग्य, चोटिलो र कठीन शब्दावलीको उपयोगद्वारा विषयवस्तु सिधै प्रस्तुत गरेर छोटा कथानक र एउटै परिवेशका भिन्न—भिन्न घटनाक्रमका उदाहरणहरुको लघुतम आख्यानका थुप्रै गोरेटोलाई एउटै मूलबाटोको रुपमा यतिबेला ‘पृथक बाटो’ लघुकथा संग्रह भित्र समेटेका छन् कथाकार मैनालीले ।

लघुकथा ‘पृथक बाटो’ कथाकार युवराज मैनालीले लेखेको पछिल्लो कृति जसलाई तन्नेरी प्रकाशनले यसैवर्ष २०७६ सालमा प्रकाशित गरेको हो । कृतिको सौभाग्य भनौं प्रकाशनसँगै कथा तर्फ उत्कृष्ट पुरस्कार दिलाउन सफल बन्यो । अनेसासद्वारा प्रत्येक दुई वर्षमा दिइने अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको विभिन्न विधा मध्ये कथा तर्फको उत्कृष्ट कथा पुरस्कारद्वारा कथाकार मैनाली सम्मानित भए ।

लघुकथा संग्रह ‘पृथक बाटो’ शिर्षकको अर्थलाई सजिलै बुझ्दा फरक वा भिन्न बाटोको रुपमा अथ्र्याएर बुझ्न सकियो । वर्तमान समयमा चलिरहको सामाजिक, राजनीतिक तथा प्रवासी हावापानीले भित्रिएको विसंगतिपूर्ण वस्तुस्थितको यथार्थ विषयवस्तु विल्कुलै नयाँ पन दिएर पृथक शैलीमा ‘पृथक बाटो’ लघु आख्यानको रुपमा कथाकारले प्रस्तुत गरेका छन् ।

संग्रह भित्र ‘अनिष्ट’ शिर्षकबाट यात्रा अगाडि बढ्दछ । ‘दोलखाका भिमसेनलाई दुई—दुई पल्ट पसिना आउनु, भक्तपुरमा विस्केटको लिङ्गो टुक्रिनु कम होइन है । यो अनिष्टको सुचक पक्कै हो ।’ रामनाथ बाजे सवै कुराको भाउ बढेको कुरा अनिष्ट नै ठानिरहेका छन् । युवा पुस्ता आफ्नै अनिष्टमा रुमलिएको छ । अर्को शिर्षकमा ‘अर्कै क्रान्ति’ क्वाँ—क्वाँ रुन सक्दैन कुनै वादी होइन, निरपेक्ष र उसले धारण गरेको निरपेक्षता नै सापेक्षहरुको डर चिन्ता निरपेक्षता बन्न पुग्यो । कथाकार आगामि अनिष्टको संकेत गरिरहेका छन्, अर्को क्रान्तिको खतरा सापेक्ष निरपेक्ष सवैका लागि ।

‘पृथक बाटो’ भित्रको सम्भवत सवै भन्दा छोटो गोरेटो हो शिर्षक ‘खोज’ । कथाकार चिन्तन र खोजको गहन गहिराईमा प्रवेश गर्दै भन्दछन् ‘अब लरोतरो भएर हुँदैन राम चाहियो । राम बन्न लायक कोही भएन । मात्र हनुमानै हनुमान बन्न मात्र लायक हुलका हुल भए, लङ्का जलाउन उद्दत ।’ स्पष्ट छ कि अब विवेक र मर्यादालाई स्वयं पालना गर्न सक्ने ‘राम’ को खाँचो यो देशलाई परेको छ । यस्तै —यस्तै कैयन शिर्षकहरु पृथक बाथो भित्र भेट्न सकिन्छ । चोटिला, रहस्यमयी, रोचक र घोचक विषयस्तुलाई लघु आख्यानमा प्रवाहित गरेर कथाकार मैनालीले कथा संग्रहमा समेट्न भ्याएका छन् ।

कथा संग्रहका बारेमा वरिष्ठ समालोचक प्रा.डा खगेन्द्रप्रसाद लुर्इंटेलका भनाईमा आधारित भएर भन्नु पर्दा संग्रहमा संकलित लघुकथाको उल्लेख्य पक्ष प्रयोगशीलता हो । यो कथ्य र शिल्प दुवै क्षेत्रमा पाइन्छ । कतिपयमा कविता, निवन्ध, र नाटकको सम्मिश्रण भेटिन्छ, कतिपयमा परम्परालाई भत्काईएको भेटिन्छ । यही प्रयोगशीलताका कारण यिनका कतिपय लघुकथा सामान्य पाठकका लागि अलि क्लिष्ट र दुर्बोध पनि हुन पुगेका छन् ।

प्रा.डा लुइटेल भन्छन्—‘यस संग्रहका लघुकथाहरुको खास पहिचान विषयगत विविधता परम्पराबाट पृथक, ब्यङ्ग्यात्मकताको प्रबलता, स्पष्टता र निर्भीकता रहेको छ । कथा र शिल्प दुवै प्रचलित परम्परा भन्दा पृथक र नवीन बाटो तर्फ उन्मुख भएकाले मुल शिर्षक ‘पृथक बाटो’ सान्दर्भिक एवं सामन्जस्यमूलक छ ।’

वर्तमान समय आधुनिकता र प्रविधि विकासले ज्यादै रफ्तारको समय । रफ्तारकै कारण समय अभाव छ अध्ययनका लागि । बढ्दो व्यस्तता, वेफुर्सदी समयमा अध्ययन गर्न पनि अनुरोध गर्नुपर्ने परिस्थितिको सिर्जना भएको छ । कम समयमै बुझ्नु र बुझाउनु पर्ने भएको छ । त्यसैले साहित्य पनि हतारिएको छ वा छोटीन बाध्य भएको छ भनौं । यसै तथ्यलाई आख्यानकारले लघु रुपमा पनि लेख्न शुरु गरिसके । पाठक पनि यस्तै छिटै र सोझै बुझ्न खेज्ने भइसकेकोले नै हो । हिजोआज लघुकथाको लागि पनि समय त छ तर कृति र कघुकथा चैं थोरै नै छन् । यो अभावको समयमा कथाकार मैनालीले लेख्नुभएको लघुकथाहरुको संग्रह ‘पृथक बाटो’ ले ठूलै राहत पुर्‍याउँछ ।

जसरी पनि सन्देश प्रवाह गर्नु, प्रष्ट्याउनु पढ्न खोज्नेहरुलाई बुझाउनु नै हो । चाहे सन्देश होस् वा परिवेश । उद्देश्य एउटै हो, तर समययानुकुल परिवर्तन मात्र हो, भन्ने शैलीको । यसै परिवर्तनलाई आत्मसाथ गरेर कथाकार मैनाली यतिबेला लघुकथाकार बनेका छन् ।

पृथक बाटो कृतिको शिर्ष नामाकरण बाटै प्रष्ट हुन सकिन्छ । कथाकार यतिबेला आम मानिसको समय व्यस्ततालाई बुझेर कम समयमै अध्ययन गर्न आशा र अभिप्रेरणा दिइरहेका छन् । भनिन्छ परिवर्तन गराउन आफै परिवर्तित हुनुपर्छ । तर आफ्नो मुल शैली ब्यांग्यात्मक यथार्थ प्रकटीकरणलाई अक्षुण राख्न भने कथाकार कत्तिपनि चुकेका छैनन् । परम्परागत धारमा धेरै कथा वा लघुकथा चलेका छन् ।

तर ‘पृथक बाटो’ नयाँ धारमा छ, समयको माग हो । तर कठीनतम शब्दावलीको चयन गर्ने शैली पाठकका लागि सहजै बुझ्न कठिन देखिन्छ जसले कथाको भावशैलीलाई समेत कतिपय ठाउँमा अस्पष्टता लाग्नसक्छ । कथाकारको शैली गम्भीर छ तर पाठक सहज रुपमा बुझ्न चाहन्छ, यसले पाठकको इच्छालाई मूल मान्नुपर्ने हुन्छ । नेपाली साहित्यमा कमी देखिएको लघुकथाका संख्या र पाठक दुवैमा वृद्धि गर्ने तर्फ पनि लघुकथाकार ठूलै योगदान दिन सफल हुने देखिन्छन् । साहित्य क्षेत्रमा यो गोरेटो नौलो नविनता पूर्ण मुलबाटोको यात्रा बन्न सकोस्, हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्