फागुन १५ बाट टिस्टुङ प्याराग्लाइडिङ जोन



न्युज अफ नेपाल, हेटौंडा ।

साहसिक पर्यटनको एक माध्यम प्याराग्लाइडिङका लागि मकवानपुरमा क्षेत्र थपिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मकवानपुरको टिस्टुङमा प्याराग्लाइडिङ जोन स्थापना गरिएको छ ।

प्राधिकरणका अनुसार टिस्टुङ प्याराग्लाइडिङ प्रालिले खेल सञ्चालन गर्ने भएको छ । टिस्टुङ उडेको प्याराग्लाइडिङले अधिकतम् ५ हजार फिटसम्म मात्र उचाईं लिनसक्ने भएको छ । प्राधिकरणका अनुसार उक्त क्षेत्र तोकिएको प्याराग्लाइडिङ जोन उपयोग भने २७ फेबु्रअरी (फागुन १५) बाट मात्र गर्न पाइने भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको मानवनिर्मित इन्द्रसरोवरमाथि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । इन्द्रसरोवर गाउँपालिका–१, मार्खुको सरोवर तालमाथि गुम्बाडाँडाबाट सफल परीक्षण गरिएको हो ।

गाउँपालिकाले आफ्नो क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने उद्धेश्यले इन्द्रसरोवर तालमाथि प्याराग्लाइडिङको परीक्षण गरेको हो । पर्यटकीय क्षेत्रमा प्याराग्लाइडिङको परीक्षण गरेर व्याबसायिकरुपमा काम गरिने गाउँपालिका अध्यक्ष जीवन लामाले बताउनुभयो ।
कुलेखानीको इन्द्रसरोवरका तीन स्थानबाट प्याराग्लाइडिङ गर्न मिल्ने भए पनि हाल एक स्थानबाट मात्र परीक्षण गरिएको उहाँले बताउनुभयो । निजी क्षेत्रसँगको सहकार्यमा नागरिक उड्डययन मन्त्रालयबाट स्वीकृति लिएर काम गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

इन्द्रसरोवरमा प्याराग्लाइडिङ चल्दा पोखरालगायत क्षेत्रमा जाने पर्यटक मकवानपुरको इन्द्रसरोवरमा आउने आशा गरिएको छ ।
प्याराग्लाइडिङ परीक्षणका लागि गाउँपालिकाले प्याराग्लाइडिङ पाइलटका रुपमा पोखराबाट विशाल लामाको नेतृत्वमा सम्भावित अध्ययन तथा परीक्षण गराएको थियो । प्याराग्लाइडिङ सफल भएपश्चात् गाउँपालिका अध्यक्ष लामाले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

बोटिङ, लालीगुराँस पदमार्गलगायत ऐतिहासिक, पुरातात्विक तथा साँस्कृतिक आकर्षण रहेको इन्द्रसरोवरको पर्यटकीय विकासका लागि प्याराग्लाइडिङले महत्वपूर्ण भूमिका खेल्ने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्