मन्त्रालय फुटाएर तत्काल मन्त्री नियुक्त नहुने



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशमा रिक्त रहेको मन्त्रालयमा मन्त्री नियुक्त गरिने भए पनि अन्य मन्त्रालय फुटाएर मन्त्री नियुक्त तत्काल नहुने भएको छ ।

प्रदेशको स्थायी राजधानी र नामाकरण सकिएलगत्तै थप मन्त्री नियुक्त गर्ने हल्ला चलिरहेको बेला मन्त्रालय तत्काल नफुटाइने र तत्काल नयाँ मन्त्री थप नगरिने प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दाबी गर्नुभएको हो ।

मुख्यमन्त्री पौडेलले रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकिने संकेत गर्नुभयो । लामो समयदेखि भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्री रिक्त रहेकोले मन्त्री नियुक्त गरिए पनि अन्य मन्त्री नियुक्त हुने देखिँदैन । तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री केशब स्थापितलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पौडेल आफैंले सम्हाल्नुभएको छ ।

१ सय १० जना प्रदेश सांसद् रहेको बागमती प्रदेशमा १० प्रतिशत मन्त्री बनाउँदा ११ जना मन्त्री बन्न सक्छन् । तर, सत्तारुढ नेकपाले प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री पौडेलले ७ सदस्यीयमात्र मन्त्रिपरिषद् बनाउनुभएको थियो । हाल भने मन्त्रिपरिषद् ६ सदस्यीयमात्र छ ।

रिक्त रहेको मन्त्रालयमा मन्त्री नियुक्तका लागि समस्या नभएको बताउँदै उहाँले भन्नुभयो–तत्काल मन्त्रालय फुटाएर मन्त्रिमण्डल विस्तार गर्ने सोच छैन । रिक्त रहेको मन्त्रालयमा केही समयपछि मन्त्री नियुक्त गर्न सकिन्छ । रिक्त स्थानमा मन्त्री नियुक्त गर्न समस्या छैन । तर, त्यो तत्काल नहुन पनि सक्छ ।

प्रदेशका सात मन्त्रालयमध्ये एकमा पनि महिला मन्त्री छैनन् । महिलालाई मन्त्री बनाउनुपर्छ भन्नेहरु धेरै छन् । तर, संघीय संसद्मा प्रतिनिधित्व गरेका हालका प्रदेश सांसद्हरु पनि आफूहरुले मन्त्री पाउनुपर्ने दाबी गरिरहेका छन् ।

तत्कालीन माओबादीबाट कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्काको नाम मन्त्रीका लागि चर्चामा थियो । समावेशी हिसाबले पनि मोक्तानलाई मन्त्री बनाउन माओबादीमा दबाब भए पनि उहाँ मन्त्री बन्न सक्नुभएन । हाल पनि मोक्तानकै चर्चा बढी छ ।
मोक्तानले पार्टीले दिएको जुनसुकै जिम्मेवारी बहन गर्न आफू तयार रहने बताउनुभयो । मकवानपुरको क्षेत्र–२ अन्तर्गत् प्रदेशसभामा निर्वाचित मोक्तान नेकपा मकवानपुर सहइञ्चार्ज हुनुहुन्छ ।

यस पटक मन्त्रिपरिषद्मा काभ्रेबाट नेकपा सांसद् चन्द्र लामालाई मन्त्री बनाउने तयारी रहेको दाबी गरिएको छ । प्रदेशको राजधानीका लागि चर्चामा रहेको सांसद्लाई बिस्तार हुने मन्त्रिपरिषद्मा स्थान दिने विषयमा मुख्यमन्त्री पौडेल गम्भीर रहेको पौडेलनिकट स्रोतको भनाइ छ । राजधानी काभ्रे हुनुपर्ने अडान राखेका लामाले अन्तिममा नेकपाको सचिवालयको निर्णयलाई आत्मसात् गर्नुभएको थियो ।

प्रदेशको राजधानी र नामाकरणको काम सकिएपछि मन्त्री बन्ने दौडधुपमा सांसद्हरु लागेका छन् । मन्त्री बन्न मुख्यमन्त्री पौडेल, नेकपा केन्द्रीय अध्यक्षसहित केन्द्रीयस्तरका नेताहरुसँग सम्वादमा रहने सांसद्को संख्या बढेको पौडेलनिकट स्रोतले जनाएको छ ।
मुख्यमन्त्री पौडेलले प्रदेशको दोस्रो वरियतामा रहनुभएका भौतिक पूर्वाधार विकास मन्त्री स्थापितलाई पदबाट बर्खास्त गर्नुभएको थियो ।

मन्त्री स्थापितको बर्खास्तगीपछि स्थापितले सम्हाल्दै आउनुभएको मन्त्रालय तत्कालका लागि मुख्यमन्त्री आफैंले सम्हाल्नुभएको छ ।
एक मन्त्रीलाई प्रदेश सरकारका मुख्यमन्त्रीले बर्खास्त गरेको नेपालमा सम्भवतः यो नै पहिलो थियो । २०७४ माघ २९ गते पद तथा गोपनियताको सपथ लिनुभएका मन्त्री स्थापितलाई २ सय ६४ दिनपछि पदबाट हटाइएको हो । मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपधारा २ को खण्ड (ख) अनुसार स्थापितलाई बर्खास्त गरी उहाँको मन्त्रालयको जिम्मेवारी आफैंले लिनुभएको थियो । प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’ पछि स्थापित बर्खास्तगीमा पर्नुभएको थियो ।

तत्कालीन माओबादीले पाउने दुई मन्त्रीमध्ये एउटामा महिला र जनजातिलाई दिनुपर्ने माग भएको थियो । सरकारले भने प्रदेशको जातीय क्लस्टर मिल्ने गरी एक नेवार, एक तामाङ र दुई खस/आर्यलाई मन्त्री बनाएको थियो ।

प्रारम्भमा माघ २९ गते सपथ लिनुभएका मुख्यमन्त्री पौडेलले सोही दिन ३ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो । मुख्यमन्त्रीसहित स्थापित (भौतिक पूर्वाधार विकास मन्त्रालय) र शालिकराम जम्कट्टेल (आन्तरिक मामिला तथा कानुन मन्त्रालय) रहेको मन्त्रिपरिषद्मा २०७४ फागुन १६ गते दोस्रोपटक कैलाश ढुंगेल (आर्थिक मामिला तथा योजना), अरुण नेपाल (उद्योग, पर्यटक, बन र वातावरण), दावा दोर्जे लामा (भूमि व्यबस्थापन, कृषि र सहकारी) र युवराज दुलाल (सामाजिक विकास मन्त्रालय) थपिनुभएको थियो ।
दुलाल माओबादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का अंगरक्षकका रुपमा लामो समय काम गर्नुभएका थियो । ढुंगेल र लामा प्रम केपी शर्मा ओलीनिकट नेता हुन् भने नेपाल वरिष्ठ नेता माधब नेपाल समूहका मानिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्