मौरीलाई चरन क्षेत्र अभाव   



न्युज अफ नेपाल, गलेश्वर,

पैयूँका रुख नासिने र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै गएपछि मौरीलाई चरन क्षेत्रको अभाव भएको म्याग्दीका मौरीपालक कृषकले बताएका छन् । पुष्परसको अभावले गर्दा मह उत्पादनमा कमी आएको उनीहरुको भनाइ छ ।

जिल्लाका ज्यामरुककोट, रत्नेचौर, अर्मन, बाबियाचौरलगायतका गाउँमा व्यावसायिक रुपमा मौरीपालन गरेका कृषकले विगतका वर्षको तुलनामा यस वर्ष पुष्परसमा कमी आएको र मह उत्पादन कमी भएको बताएका हुन् ।

बेनी नगरपालिका–२ का मौरीपालक कृषक जीतबहादुर थापाले तोरी, वुकी, पैयूँ, दुदिलोलगायतका फूल तथा वनस्पतिमा यस वर्ष रसको मात्रा घटेको बताउनुभयो । थापाले विगतका वर्षहरुमा यो मौसममा मौरीले अरु समयको तुलनामा बढी मह उत्पादन गर्ने गरेको बताउँदै यो वर्ष विगतको तुलनामा आधा मात्र मह उत्पादन भएको छ भन्नुभयो । “मौरी चरेर आइसकेपछि पनि पोटिला नदेखिनु र मह उत्पादनका लागि उपयुक्त मानिएको माघ, फागुन महिनामा कम मह उत्पादन हुनुको कारण पुष्परसमा कमी आउनु नै हो”, थापाले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र म्याग्दीले गत साल अत्यधिक वर्षा र त्यसपछि सुक्खा हावा चलेका कारणले पनि पुष्परसमा स्वभाविक रुपले कमी आएकाले यस्तो समस्या उत्पन्न भएको बताएको छ । मौरीको गोलाको सङ्ख्या अत्यधिक रुपमा बढिरहेको छ । कृषकले भने चरन क्षेत्रमा ध्यान नदिएको र बढ्दो रासायनिक मलको प्रयोगका कारण परागसेचन प्रक्रियामा प्रभाव परेकाले फलफूलजन्य वनस्पतिमा रसको मात्रा कमी आउँदा मह उत्पादन कम भएको कृषि प्राविधिकले बताए ।

कृषि ज्ञान केन्द्र म्याग्दीले मौरीपालक कृषकले मौरीको गोलासँगै चरन क्षेत्रको विस्तारमा ध्यान दिन कृषकलाई सल्लाह दिँदै घार वरिपरि बाँझो जग्गा नराख्न र विशेष गरी पुष्पजन्य बोटबिरुवा लगाउन अनुरोध गरेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्