गायिका आस्था राउतमाथि अभद्र व्यवहार मुद्दा चलाउने प्रहरीको तयारी



न्युज अफ नेपाल, काठमाडौं ।

गायिका आस्था राउतमाथि कारबाही हुने भएको छ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको प्रतिवेदनका आधारमा प्रहरीले राउतमाथि कारबाही गर्ने भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले राउत र प्रहरी जवान श्रेष्ठबीच भएको कुराकानीको भिडिओ तथा त्यसबेला रेकर्ड भएको सिसिटिभी फुटेजसमेतको प्रतिवेदन संकलन गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा पठाएको छ।

उक्त प्रतिवेदनमा जवान श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरेकी छिन्।

सो प्रतिवेदनको आधारमा राउतमाथि अभद्र व्यवहार गरेको कसूरमा कारबाही गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

प्रहरी जवान श्रेष्ठको दावी पुगे गायिका राउतमाथि अभद्र व्यवहार कसूरमा मुद्दा अघि बढाउने प्रहरीको तयारी छ। राउतले अहिलेसम्म कानुनी रूपमा प्रहरीमा कुनै उजुरी गरेकी छैनन्। श्रेष्ठले ड्युटीका बखत गल्ती गरेको भए उनीमाथि पनि आचरण–व्यवहारमा कारबाही हुने प्रहरीले जनाएको छ।

यस्तो थियो घटना

बुधबार राउत भद्रपुर जाने क्रममा मध्यान्ह विमानस्थलमा पुगेकी थिइन्। सो क्रममा उनी आन्तरिक टर्मिनलको एक्सरेमा छिर्दा रातो बत्ती बलेपछि सुरक्षामा खटिएकी प्रहरी जवानले ज्याकेट फुकाल्न लगाएकी थिइन्।

मेटल डिटेक्टिभ एक्सरेले रातो देखाएपछि सुरक्षाकर्मीले पुनस् चेकजाँच गर्छिन्। यसक्रममा राउत झोक्किएर ज्याकेट फुकाल्दै एक्सरे मेसिनमा हालेकी थिइन्। सो बेला उनले हातमा लिइरहेको कफीको कप प्रहरी कर्मचारीले सुरक्षित गरिदिएकी हुन्छिन्।

चेकजाँच सकिएपछि उनले त्यो फिर्ता गरिदिएकी थिइन्। तर, राउतले कप ठेल्छिन्।

केहीबेरमा कपबाट कफी पोखिन्छ र राउतको ज्याकेट भिज्छ। यसक्रममा राउतले प्रहरी कर्मचारीप्रति आक्रोश पोख्छिन् र त्यहाँबाट निस्किन्छिन्।

प्रतिक्रिया दिनुहोस्