एउटै वडामा १८ छाउपडी गोठ, देख्नेबित्तिकै भत्काउन प्रहरीको आदेश



विमल विष्ट, डोटी ।

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडामा मात्रै १८ वडा छाउपडी गोठ रहेको पाइएको छ ।

जिल्लामा छाउपडी अन्त गर्ने अभियान सञ्चालन भएर धमाधम छाउपडी गोठ भत्काउन सुरु गरिएपनि उक्त वडाको डाडी गाउँ, सेटी गाउँ लगायतका गाउँहरुमा यति ठूलो संङ्ख्यामा छाउपडी गोठहरु रहेको पाइएको हो ।

महिला अधिकार मञ्चकी अध्यक्ष तथा छाउगोठ अनुगमन समितिका संयोजक सिता बिक सहितको टोलीले उक्त वडामा अनुगमन तथा छाउगोठको तत्थ्यांङ्क संङ्कलन गर्ने क्रममा दुइ गाउँमा मात्रै यति ठूलो संङ्ख्यामा छाउपडी गोठ भेटिएका हुन् ।

नगरपालिकाको दुइ गाउँमा मात्रै यति ठूलो संङ्ख्यामा छाउगोठ भेटिएपछि आफु अचम्ममा परेको छाउगोठ अनुगमन समितिका संयोजक सिता बिकले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुइ गाउँमा त यति ठूलो संङ्ख्यामा छाउगोठ छन् अन्य वडामा कति होलान, हामी पुरै नगरपालीका भरीमा तत्थ्यांङ्क संङ्कलन गर्दैछौँ, जहाँ शिक्षित छन् त्यहाँ बढी छाउगोठ छन् ।’

‘छाउपडी गोठ भत्काउन सबै वडामा पत्राचार गरेकाछौँ, नभत्काउने वडामा हामी आफै गएर भत्काउने छौँ ।’

उता डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्ला भरीमा भएका छाउगोठको तत्थ्यांङ्क संङ्कलन गरी सबै छाउगोठ भत्काइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘छाउगोठको तत्थ्यांङ्क संङ्कलन हुँदै छ, जति छाउगोठ छन् सबै भत्काउने छौँ ।’

मुलुकी अपराध संहिता २०७४ को दफा १६८(३) मा महिलाहरु रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्यपार्नेलाई तीन महिना कैद र तीन हजार रुपैयाँसम्म जरिमाना हुने व्यवस्था रहेको भएपनि डोटी सहित समग्र सुदूरपश्चिम प्रदेशमा छाउपडीका नाममा महिनावारी भएकी महिलालाइ छाउगोठमा राख्ने चलन कायमै रहेको छ ।

गृह मन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि अहिले डोटी सहित समग्र सुदूरपश्चिममा छाउगोठ भत्काउने अभियाननै सञ्चालन भएको छ ।

आफनो नगरपालिकामा भएका छाउगोठहरु तत्काल भत्काउन सबै वडा अध्यक्ष र कर्मचारीलाइ पत्राचार हित निर्देशन दिएको दिपायल सिलगढी नगरपालिकाका नगर उप प्रमुख शिवराज खड्काले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘छाउपडी गोठ भत्काउन सबै वडामा पत्राचार गरेकाछौँ, नभत्काउने वडामा हामी आफै गएर भत्काउने छौँ ।’

त्यसैगरी केही दिन पहिले प्रहरी तथा स्थानीयबासीले जिल्लाको बडीकेदार गाउँपालिकाको वडा नं ३ घागलको सिदुरेपानीमा मात्रै २८ वटा छाउपडी गोठहरु भत्काइएका छन् । जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउने क्रम जारी रहेको छ ।

प्रहरीले समेत छाउ गोठ कुन वडा र गाउँमा कति छन् भन्ने विषयमा अनुगमन गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीले आफै छाउपडी गोठ खोज्दै हिँडेको छ, छाउपडी गोठ देख्ने बित्तिकै भत्काउन आदेश दिएको छु ।’

नौ वटा स्थानीयतह रहेको डोटीमा सबै स्थानीयतहका जनप्रतिनिधिहरुले महिनावारी भएका महिला छाउगोठमा राख्नेलाइ स्थानीयतहबाट प्राप्त हुने सेवा सुबिधाबाट बञ्चित गराउने निर्णय समेत गरेका छन् ।

छाउ भएकी महिलालाइ घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउछ भन्ने अन्ध बिस्वासका साथ महिनावारी अर्थात छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने चलन जिल्लामा रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारलेपनि छाउपडीका नाममा गरिदै आएको बिकृत तत्काल अन्त गर्न र गाउँमा बनाइएका छाउगोठ भत्काउन यहाँका स्थानीयतहलाइ पत्राचार समेत गरेको छ ।

जिल्लामा कम्तिमापनि १०० को हाराहारीमा छाउगोठ हुन सक्ने सो क्षेत्रमा काम गर्ने संघ संस्थाको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्