कालिञ्चोकमा लगातार हिमपात, ४ हजार पर्यटक रमाए



चिरञ्जीवी मास्के, दोलखा ।

प्रसिद्ध कालिञ्चोक मन्दिर क्षेत्रमा विहिवार राति देखि लगातार हिमपात भइरहेको छ । लगातारको हिमपातका कारण अत्यधिक चिसो बढेपनि कालिञ्चोकको कुरी क्षेत्रमा झण्डै चार हजार पर्यटक रमाईरहेको सुनपाति होटलका सञ्चालक हरि ओलीले बताउनुभयो ।

३८४२ मीटरको उँचाईमा रहेको कालिञ्चोकमा पुष देखि चैत्रसम्म अत्यधिक हिमपात हुने भएकोले लाखौ पर्यटक पुग्ने गरेका छन् । कालिञ्चोकको कुरी क्षेत्रमा रहेका ५० भन्दा बढी साना तथा ठूला होटलहरु विहिवार दिउँसो देखिनै भरीएको ओलीले बताउनु भयो ।

शुक्रवार र शनिवार त्यसैपनि मानिसहरुको उपस्थिति उल्लेख्य हुने गरेकोमा हिमपात भएपछि कुरीका कुनै पनि होटलहरु खाली नहुने स्थानिय बताउछन् ।

महत्वपूर्ण धार्मिक गन्तव्यको रुपमा रहेको कालिञ्चोकको चुचुराबाट हिमश्रृङ्खला र हिउँले ढाकिएको सुन्दर पहाडहरु देखिने भएकोले हिमपातको मौसममा अत्यधिक पर्यटक पुग्ने गरेको होटल व्यवसायीहरुको भनाई छ ।

विहिवारबाट लगातार हिमपात भै रहेकोले कालिञ्चोक र कुरी क्षेत्र आशपास झण्डै चार फिट हिउँ जमिसकेको स्थानिय बताउछन् । काठमाडौँबाट चरिकोट १३३ किलोमीटर र चरिकोटबाट कालिञ्चोक १७ किलोमीटरको दूरीमा रहेको छ ।

काठमाडौाबाट नजिक तर रोमाञ्चक हिम पहाडले ढाकिने स्थान भएकोले पनि कालिञ्चोकमा हिमपातको मौसममा अत्यधिक पर्यटक पुग्ने गरेको स्थानियको भनाई छ ।

लगातारको हिमपातका कारण चरिकोटबाट गैरीसम्म मात्र यातायात सञ्चालन भएको र गैरीबाट चेन भएका केहि बोलेरोले मानिस ओसारी रहेको सुनपाती होटलका सञ्चालक ओलीले बताउनु भयो ।

लामोसाँगु जिरी सडक खण्डमा पर्ने दोलखाको खरीढुङ्गा क्षेत्रमा पनि शुक्रवार विहानै देखि हिमपात भइरहेको तर यातायात भने अहिलेसम्म अवरुद्ध नभएको दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्