कैदीबन्दीलाई योग प्रशिक्षण



शिक्षा पन्त, लमजुङ। 

जिल्ला कारागार कार्यालय लमजुङका कैदीबन्दीलाई योग प्रशिक्षण दिइएको छ। कैदीबन्दीको शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो बनाउन प्रशिक्षण दिइएको हो।

राष्ट्रिय योग दिवसको अवसरमा कारागारका कैदीबन्दीलाई कारागारमै पुगेर योगसम्बन्धी प्रशिक्षण दिइएको हो। योगले मानिसलाई शारीरिक रुपमा तन्दुरुस्त बनाउँदै मानसिक समस्याको समेत समाधान गर्ने योग प्रशिक्षक अंगराज घिमिरेले बताउनुभयो।

मानिस स्वास्थ्य रहनका लागि खानासँग पानी पिउन नहुने पिएमा विष सरह हुने, पानीलाई मुखमा खेलाएर मात्र पिउनुपर्ने, फ्रिजको पेय पदर्था खान नहुने, बिहान उठ्ने बित्तिकै १ लिटर पानी खालि पेटमा मुखको र्याल नफाली पिउनुपर्ने प्रशिक्षक घिमिरेले बताउनुभयो।

‘चिया पिउन नहुने, बिहान साढे ९ बजे र बेलुका ७ बजेभित्रमा खाना खाइसक्नुपर्छ, उहाँले भन्नुभयो– ‘मानिसले एक पटक श्वास लिँदा ४ सयदेखि ५ सय मिलिलिटर अक्सिजन लिने र योग गरेपछि एक पटकमा ३ हजार ५ सय मिलिलिटर अक्सिजनभित्र प्रवेश गर्छ।’

कारागारका कैदीबन्दीले योगसम्बन्धी ज्ञान तथा प्रशिक्षण पाएपछि खुसी भएको कारागारका जेलर विष्णुप्रसाद पौडेलले बताउनुभयो। राष्ट्रिय योग दिवस समारोह समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काकाअनुसार अन्य मानिसले जस्तै कैदीबन्दीले पनि स्वास्थ्य जीवन जिउन पाउने अधिकार भएकाले उनीहरूका लागि प्रशिक्षण गरिएको बताउनुभयो।

कारागारमा रहेका पुरुष कैदीबन्दीलाई प्रशिक्षण मस्र्याङ्दी गाउँपालिकाका वैद्य निरीक्षक सुनिल तिवारी, पतञ्जली योग केन्द्रका अंगराज घिमिरे, लमजुङ योग तथा प्राकृतिक चिकित्सा तेजनारायण अधिकारीले दिनुभएको थियो।

उहाँहरूले दुःखका कारण, स्वास्थ्य रहनका लागि सात सूत्र, भोजनान्ते विषः वारी, उषापान, योगको बारेमा प्रयोगात्मक र शैद्धान्तिक तरिकाबाट सिकाउनुभएको थियो। मस्र्याङ्दी गाउँपालिका वैद्य निरीक्षक सुनिल तिवारीका अनुसार हरेक मानिसले योग सिक्न आवश्यक छ।

प्रशिक्षणमा सिकेका कुरा दैनिक जीवनमा प्रयोग गर्ने उनीहरूले बताएका छन्। कारागारमा हाल ८२ जना कैदीबन्दी छन्। ७४ पुरुष र ८ जना महिला छन्।

 

प्रतिक्रिया दिनुहोस्