डेपुटी गभर्नर श्रेष्ठलाई सफाई



काठमाडौं, (नेस)।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सफाई पाउनुभएको छ। सरकारले उहाँलाई सफाई दिएको सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार जानकारी दिनुभयो।
‘राष्ट्र बैंकको विषयमा छानविन भएको हो।

छानविनको रिर्पोट प्राप्त भएको छ।छानविनमा कुनै त्यस्तो प्रमाण नभेटिएपछि सफाई पाएको अवस्था हो। त्यतिकै केही पनि फेला नपरे पनि बर्खास्त गर्नैपर्छ भनेर भएन,’ उहाँले भन्नुभयो।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा भन्नुभयो–‘प्रश्न उठेपछि छानविन हुनु स्वभाविक हो।

छानविन हुँदा केही पनि पाएन भने करार गर्नुपर्ने, फटाहा वा भष्ट नै हो भनेर करार गर्न मिल्दैन।जे कुरा खोजबिन भयो, त्यो कुरा नभेटिएपछि सफाइ पाएको अवस्था छ।’

सरकारी निर्देशनमा गठित छानविन समितिले कारबाही सिफारिस गरेपछि सरकारले दुई साताअघि श्रेष्ठसँग प्रष्टीकरण सोधेको थियो।

उहाँको प्रष्टीकरण चित्त बुझ्दो भएको र आरोप गलत भएको भन्दै सरकारले सफाई दिने निर्णय गरेको मन्त्री बाँस्कोटाको भनाइ छ।

सरकारको निर्देशनमा करिब दुई महिनाअघि राष्ट्र बैंकले श्रेष्ठमाथि समिति बनाएर छानविन गर्न लगाएको थियो। नेपाल राष्ट्र बंैक सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोध कर्ण सदस्य रहेको समितिले प्रतिवेदन तयार पारेको थियो।

श्रेष्ठसँग पनि सोधपुछ गरेर प्रतिवेदन तयार पारिएको थियो। प्रतिवेदन राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेर अर्थमन्त्रालय हँुदै मन्त्रिपरिषद्मा लगिएको थियो।

सम्पति शुद्धीकरण अनुसन्धान विभागमा परेको उजुरीका आधारमा सरकारले श्रेष्ठमाथि छानविन गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो। उहाँमाथि वित्तीय क्षेत्रलाई समस्यामा पार्ने, नक्कली बिल बनाएर भुक्तानी लिनेजस्ता आरोप माथि छानविन भएको थियो।

प्रतिक्रिया दिनुहोस्