बैंकिङ क्षेत्रमा ‘गो– एएमएल’ प्रणाली लागू : अब रकम जम्मा गर्नेले पनि तीनपुस्ते बुझाउनुपर्ने



नेपाल समाचारपत्र, काठमाडौं।

वाणिज्य बैंकहरूले माघ १ गतेदेखि भुक्तानी प्रक्रियामा ‘गो– एएमएल’ प्रणाली लागू गरेका छन्। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले बुधबारबाट सीमा र शंकास्पद कारोबार विवरण जानकारी राख्न गो–एएमएल प्रणाली सञ्चालनमा ल्याएका हुन्।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को नियमअनुसार गत महिना बैंक तथा वित्तीय संस्थालाई गो–एएमएल सफ्टवेयर राख्न निर्देशन दिएको थियो।

गो–एएमएलको माध्यमबाट ग्राहक पहिचानलगायतका विवरण सजिलै विद्युतीय माध्यमबाट राख्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले यसअघि विद्यमान वित्तीय जानकारी इकाईमा पेस गर्नुपर्ने विवरणले सूचक संस्थाहरूको प्रतिवेदन पेस गर्ने व्यवस्थामा परिवर्तन गरेको छ।

केन्द्रीय बैंकले गो–एएमएलको माध्यमबाट प्रँप्त सूचना र विवरणले वित्तीय जानकारी इकाईको कार्य चुस्त र सरल हुने जनाएको छ।गो–एएमएल यूएनओडीसीद्वारा विकसित प्रणाली अन्तर्राष्ट्रियस्तरको एकीकृत सूचना सञ्जालसहितको सफ्टवेयर प्रणाली हो।

यो प्रणाली विश्वभरका ५० मुलुकले प्रयोगमा ल्याइसकेको नपाल राष्ट्र बैंकले जनाएको छ। ६० मुलुकहरू यस प्रणालीको कार्यान्वयनको क्रममा छन्।

नेपालको सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणमा सहयोग पुर्याउने हेतुले यस प्रणाली लागू गरिएको राष्ट्र बैंकले जनाएको छ।

यसको प्रयोगले नेपालको सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणको प्रयासबारे अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश जाने राष्ट्र बैंकको विश्वास छ।

यस प्रण्लीको विकासले नेपालको जोखिम रेटिङमा पनि प्रगति हुने राष्ट्र बैंकले जनाएको छ। अहिले वाणिज्य बैंकहरूमा मात्र कार्यान्वयनमा ल्याइएको यो प्रणाली आगामी आर्थिक वर्ष २०७७/७८ देखि अन्य वित्तीय संस्था तथा सूचक संस्थामा पनि लागू गरिने राष्ट्र बैंकले जनाएको छ।

कसरी काम गर्छ गो–एएमएलले ?

बैंक तथा वित्तीय संस्थाले गो–एएमएलमा बैंकहरूले ग्राहकको, खातामा रकम पठाउने व्यक्ति वा संस्थाको विवरण तयार गर्नुपर्नेछ।

साथै एउटै व्यक्ति वा संस्थाले यस प्रकृतिको कार्य ग्राहक पहिचान विवरणसँग मेल नखाने गरी पटक–पटक गरेको पाइएमा वित्तीय जानकारी इकाईलाई जानकारी गराउनुपर्नेछ।

आवश्यक विवरणहरू नखुलेको अथवा कारोबार वा पेस गरिएको विवरण र व्यक्ति शंकास्पद लागेका कुनै खाता कारोबारको विवरण रोकेर तत्काल सम्बन्धित निकायमा जानकारी गराउनुपर्नेछ।

बैंक तथा वित्तीय संस्थाले आफूले जारी गरेका विद्युतीय उपकरण वा कार्डको विदेशमा भएको प्रयोग ग्राहकले आफूलाई दिएको जानकारी वा उद्देश्य अनुरुप भए–नभएको र विदेशी बैंक वा वित्तीय संस्थाले जारी गरेको विद्युतीय उपकरण वा कार्यको प्रयोग आफ्नो संयन्त्रमार्फत् भएको प्रयोगको समेत निरन्तर अनुगमन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

ग्राहकलाई थप जटिल ?

यो सफ्टवेयर राखेपछि कुनै पनि व्यक्तिले कुनै बैंक तथा वित्त कम्पनीमा गएर कुनै व्यक्तिको खातामा रकम जम्मा गर्दा रकम जम्मा गर्ने व्यक्तिले पनि आफ्नो तीनपुस्ते विवरण भर्नुपर्नेछ।

त्यतिमात्रै होइन, आफ्नो पहिचान खुल्ने सक्कली प्रमाणपत्र अर्थात नागरिकता, ड्राइर्भिङ लाइसेन्स, मतदाता परिचयपत्र वा पासपोर्ट चाहिन्छ। यस्तै गो–एएमएल सफ्टवेयरमा बैंकले आफ्नो नयाँ वा पुराना सम्पूर्ण ग्राहकको विवरण अपडेट गराउनुपर्नेछ।

यसकारण अब बैंकहरूले ग्राहकसँग केही कागजपत्र अपुरो नै राखेर खाता खोलेको भएमा ती अपूरा कागजपत्र बैंकले पुनः माग गरिने राष्ट्र बैंकले जनाएको छ।

गो–एएमएलमा गएपछि बैंकमा ग्राहकले जम्मा गर्ने रकमको स्रोत खुलाउनुपर्ने हुन्छ। यसैगरी प्रक्रिया कार्यान्वयन भएपछि १० लाखभन्दा बढी रकम दिनभरिमा फरक–फरक शाखा र समयबाट डिपोजिट भएको पनि देखिनेछ।

अहिले १० लाख रुपियाँभन्दा माथिको कारोबारको मात्र विवरण राष्ट्र बैंक पठाइने गरेको राष्ट्र बैंकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्