कुमारी बैंकमा देव: विकास बैंक गाभिने



नेपाल समाचारपत्र, काठमाडौं।

कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने भएको छ। दुवै कम्पनीबीच उक्त प्राप्ति (एक्विजिसन) गर्ने औपचारिक हस्ताक्षर सम्पन्नलगत्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा देवः विकास बैंकको कारोबार रोक्का भएको छ।

बैंक गाभ्ने समझदारीपत्र (एमोयु) मा कुमारी बैंक र देवः विकास बैंकका तर्फबाट बैंकका सञ्चालक समितिका सदस्य एवम् मर्जर समितिका संयोजकद्वय कृष्णप्रसाद ज्ञवाली तथा भरतबहादुर हमालले हस्ताक्षर गर्नुभएको छ। मर्जपछि कुमारी बैंककै नामबाट कारोबार हुने सहमति भएको जनाइएको छ।

सम्झौताअनुसार कुमारी बैंकको सय रुपियाँ बराबर देवः विकास बैंकको शेयर मूल्य ८६ रुपियाँ हुनेछ। यद्यपि, सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) अनुसार शेयर रेसियोमा परिवर्तन पनि हुन सक्नेछ।

हाल कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपियाँ रहेको छ। साथै देवः विकास बैंकको चुक्ता पुँजी ३ अर्ब १७ करोड रुपियाँ छ।

मर्जरपश्चात बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ। त्यस्तै निक्षेप १ खर्ब २० अर्ब तथा ऋण लगानी १ खर्ब ५ अर्बभन्दा बढी हुने भएको छ। यसैगरी, बैंकको शाखा सञ्जाल २ सयभन्दा बढी हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्