मुटु सुधार्ने उपाय



‘मुटु नभएकाहरू’ भन्दै पीएम ओली सञ्चार माध्यमका सम्पादकमाथि आक्रोश पोख्या पोख्यै छन्। कुरो सही हो, राम्रा कुरा कहिल्यैै नदेख्ने, राम्रा र हाम्रा कुराको प्रशंसा नगर्ने पनि सम्पादक हुन्छन् र भन्या ?

बाह्रै मास सरकारको उछित्तो काट्ने, खेदो मात्रै खन्ने, नराम्रो मात्रै लेख्ने र देख्ने भएसी सम्पादकहरूको मुटु मात्रै होइन पीएमज्यू आँखाको पावर पनि घट्या हुनुपर्छ।

निर्मला काण्ड, ३३ किलो सुनको काण्ड, वाइडबडी प्रकरण, गोकर्ण रिसोर्ट, सगरमाथा निकुञ्जको जग्गा भाडा, नेपाल ट्रस्ट प्रकरण, बालुवाटार जग्गा प्रकरण, पप्पुलाई ‘पप्पी’ जस्ता अनगिन्ती उदाहरण हुँदाहुँदै सरकारलाई ‘हेप्नी’ सम्पादक भएसी पत्रकारिता कसरी उभो लागोस्, हैन त पीएमज्यू ?

मुटु र आँखा मात्रै होइन सम्पादकहरूको अनेक थरी समस्या छन्, चानेचुने डाक्टरले पत्ता लाउनै नसक्ने।
मुटु स्वस्थ राख्ने ठेक्का धारा तेलले लिएको वर्षौ भयो, त्यसको गुणस्तर खस्किएर पो सम्पादकहरू हिम्मतिला नभएका हुन् कि ?

त्यसैले समस्याको चुरो कुरो पत्ता लगाउन दूधको दूध पानीको पानी छुट्याउन छुट्टै आयोग गठन गर्न ढिला पो भइसक्या हो कि ?

धारा तेलको गुणस्तर खस्किएको भए यति ब्रान्डको तेल बजारमा छिटै उपलब्ध गराउनु पर्यो, त्यसले पनि धेर थोर समस्या समाधान गर्न सक्छ है !

प्रतिक्रिया दिनुहोस्