विभिन्न कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइयो



नेपाल समाचारपत्र, काठमाडौं।

विसं १९९० साल माघ २ गते गएको प्रलयकारी भूकम्पको स्मरणमा सरकारले हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरेको छ।चार वर्षअघि २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको स्मरण पनि ताजै छ।

नेपाल भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण मानिन्छ। उपत्यकाको काठमाडौं त विश्वकै जोखिम क्षेत्रको रूपमा रहेको छ। २०७२ मा गएको विनाशकारी भूकम्पले ९ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए। लाखांै घरहरू क्षतिग्रस्त भएका थिए।

हजारभन्दा बढी सम्पदा पूर्णरूपमा क्षति भएका थिए। नेपालको सन्दर्भमा हरेक ८० देखि सय वर्षको अन्तरालमा विनाशकारी भूकम्प आउने गरेको तथ्यांक छ। विसं १९९० सालमा ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले काठमाडौं उपत्यका र पूर्वी तराईमा ठूलो जनधनको क्षति पुर्याएको थियो।

सरकारले देशैभरी २२औं भूकम्प दिवस मनाइरहँदा नेपालमा अझै पनि जनचेतनाको आवश्यकता खड्किएको छ। भूकम्प आएको केही समयसम्म भूकम्प जोखिम न्यूनीकरणको विषयमा गम्भीर हुने अनि भूकम्प गएको एक वर्ष बित्न नपाउने बिर्सने बानीलाई हटाउन आवश्यक छ।

गगनचुम्बी महलमा बस्दै गर्दा फेरि भूकम्प आउँदा के गर्ने ? भन्ने विषयमा जनचेतना दिन ुआवश्यक छ। जिम्मेवार मानिएको स्थानीय निकायले भूकम्प जाँदा कस्तो घरमा बस्दा सुरक्षित हुन्छ, घर बनाउँदा कस्तो सामाग्री प्रयोग गर्ने, कति अग्लो घर बनाउनेलगायत विषयमा जानकारी दिनु पहिलो कर्तव्य हो ।
उपत्यका लगायत भूकम्पले जोखिम भएको स्थानमा अग्ला घर बन्ने क्रम रोकिएको छैन।

ती घरहरू भूकम्पीयरूपमा जोखिम छ कि छैन भन्ने विषयमा जाँच गर्नु आवश्यक छ।विसं २०५५ सालदेखि नियमितरूपमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ। एक दिन मात्रै दिवस मनाएर भूकम्पीय जोखिमको बारेमा छलफल, गोष्ठी र दिवंगत आत्माका सम्झना गर्नूभन्दा पनि कस्तो संरचना निर्माण गर्दा भूकम्पीय जोखिमबाट जोगिन सकिन्छ भनेर लगातार जनचेतनाको कार्यक्रम गर्नु आवश्यक छ।

भूकम्पबाट हुने सम्भावित क्षति र प्रकोपका बारेमा सुसूचित गर्न, दिवस मनाइने गरिएको छ। तर दिवसको सार्थकताको बारेमा मूल्याङकन गर्नु आवश्यक छ।

सरकारले भूकम्पपछि भवन निर्माण गर्दा भवनसंहिता कडाइपूर्वक लागू गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेको छ तर ऐनअनुसार काम भए नभएको विषयमा अनुगमनको कमी देखिएको छ।

प्रधानमन्त्री केपी ओलीले विसं १९९० र २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनर्निर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा सरकार अग्रसर रहेको सन्देश जारी गर्नुभएको छ।

भूकम्प प्रभावित जनताका सुरक्षित आवास, विद्यालय, बस्तीहुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा सरकार जुटेको बताउनुभएको छ।

भूकम्पले ध्वस्त भएका जनताका आवास, ऐतिहासिक तथा पुरातात्विक सम्पदा, सरकारी प्रशासनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्थाका भवनलाई खण्डहर जमिनबाट उठाएर नवनिर्माणको सुखद तस्वीरमा दाबी गर्नुभएको छ।

तर भविश्यमा पुनः यस्तै प्रकृतिको भूकम्प आउँदा कसरी जोगिने र संरचनालाई कसरी बचाउने भन्ने विषयमा सरकारले खेल्नुपर्ने विषयको बारेमा खासै उल्लेख गरिएको छैन।

 

प्रतिक्रिया दिनुहोस्