भूकम्प चेतना



भूकम्प हाम्रो गम्भीर चिन्ताको विषय बनेको छ। त्यसैले नै १९९० साल माघ २ गते गएको प्रलयकारी भूकम्पको स्मरणमा सरकारले हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गर्दछ। पाँच वर्षअघि २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको स्मरण पनि ताजै छ।

नेपाल भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण मानिन्छ। उपत्यकाको काठमाडौं त विश्वकै जोखिम क्षेत्रका रूपमा रहेको छ। २०७२ मा गएको विनाशकारी भूकम्पले ९ हजारभन्दा बढी मानिसको ज्यान लियो। लाखौं घर क्षतिग्रस्त भए। हजारभन्दा बढी सम्पदा पूर्णरूपमा क्षति भए।

उपत्यकालगायत भूकम्पले जोखिम भएको स्थानमा अग्ला घर बन्ने क्रम रोकिएको छैन। २०५५ सालदेखि नियमितरूपमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ।

भूकम्पबाट हुने सम्भावित क्षति र प्रकोपका बारेमा सुसूचित गर्न, दिवस मनाइने गरिएको छ। पछिल्ला वर्षहरूमा सरकारले भवन निर्माण संहिता कडाइपूर्वक लागू गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेको छ।

प्रधानमन्त्री केपी ओलीले १९९० र २०७२ गएका विनाशकारी भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनर्निर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा सरकार अग्रसर रहेको सन्देश जारी गर्नुभएको छ। भूकम्प प्रभावित जनताका सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा सरकार जुटेको बताउनुभएको छ।

भूकम्पले ध्वस्त भएका जनताका आवास, ऐतिहासिक तथा पुरातात्विक सम्पदा, सरकारी प्रशासनिक भवन, विद्यालय तथा स्वास्थ्य संस्थाका भवनलाई खण्डहर जमिनबाट उठाएर नवनिर्माणको सुखद तस्वीरमा रूपान्तरित गरेको दाबी गर्नुभएको छ।

तर, भविष्यमा पुनः यस्तै प्रकृतिको भूकम्प आउँदा कसरी जोगिने र संरचनालाई कसरी बचाउने भन्ने विषयमा सरकारले खेल्नुपर्ने विषयका बारेमा खासै उल्लेख गरिएको छैन। वस्तुतः २०६० सालमा राष्ट्रिय भवन संहिता निर्माण भयो।

२०६२ साल फागुन १ मा आचार संहिता लागू गरियो। त्यसपछि २०७३ साल कात्तिकमा २ सय १७ नगरपालिका र सबै गाविसमा अनिवार्यरूपमा भवन संहिताको पालना गर्नुपर्ने व्यवस्था बनाइयो।

सरकारले नयाँ व्यवस्था लागू गरे पनि त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा खासै पहल गर्न सकेको छैन। सरकारले देशैभरि २२आंै भूकम्प दिवस मनाइरहँदा नेपालमा अझै पनि जनचेतनाको अभाव खड्किएको छ।

भूकम्प आएको केही समयसम्म भूकम्प जोखिम न्यूनीकरणको विषयमा गम्भीर हुने अनि भूकम्प गएको एक वर्ष बित्न नपाउँदै बिर्सने बानीलाई हटाउन आवश्यक छ।

गगनचुम्बी महलमा बस्दै गर्दा फेरि भूकम्प आउँदा के गर्ने भन्ने विषयमा जनचेतना दिनु आवश्यक छ। अब सरकारले जारी गरेको आचार संहितालाई कडाइका साथ पालना गर्न सबै निकाय तात्नुपर्ने जरुरी छ।

किनभने, समस्यामा परेपछि उद्धार र राहतका लागि प्रयास गर्नुभन्दा सुरक्षित रहने मानसिकताका साथ निर्माण थाल्नु बुद्धिमानी देखिन्छ।

भनिन्छ, भूकम्पले होइन– गलत संरचना वा भौतिक वस्तुले मानवजीवनको क्षति गर्दछ। ती वस्तुबाट सुरक्षित रहन सकियो भने मात्र भूकम्प दिवसको सार्थकता रहन्छ।

प्रतिक्रिया दिनुहोस्